सुकिला मुकिलाहरुको रजाईं चलेको बेला
पाखुरा सुर्क्याउँदै विचार दबाएर
विधिको होइन, बलको शासन चलेको देख्दा
फगत तिमीलाई सम्झनुसिबाय
के गर्न सक्छु र म !
तिमीले देखाएको बाटो
तिम्रै औँला समातेर
टुकुटुकु हिँड्न सिकेकाले
बिर्सेका बेला
पार्टीनामका पछाडि तिमीले जोडेको
राष्ट्रियता लोकतन्त्र र समाजवादको नारालाई
मिथ्या फुर्का जोडेको साबित गर्न तम्तयार जमात देख्दा
तिमीलाई सम्झनसिबाय
के गर्न सक्छु र म !
समाजवादका लागि उत्पादकत्व वृद्धिमा जोड दिन
पुँजीवादको आवश्यकता देख्ने तिमी
स्वास्थ्यको समस्यामा खानेपानीको सम्बन्ध खोज्ने तिमी
सिंहदरबारमा किसानको फोटो खोज्ने तिमी
तिम्रै सन्तानको
द्रव्य मोह र वैचारिक स्खलन देखेर
तिमी नै खिन्न भएको बेला
फगत तिमीलाई सम्झनसिबाय
के गर्न सक्छु र म !
हुन त तिमीले नै भनेको बिर्सेको छैन
सुकिला मुकिलापछि
एक दिन फेरि इमान्दारिताको जित हुने छ
कालो बादल फाटेर फेरि घाम लाग्ने छ
त्यही दिनको प्रतीक्षामा तिमीलाई सम्झनसिबाय
के गर्न सक्छु र म !
सैँबु, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।