यहाँ
आफ्नो अस्तित्व स्थापित गर्ने नाममा
अरुको परिचय मेटाउने
एउटा श्रृंखला चलिरहेको छ वर्षौंदेखि

तिमी सागर बनेपछि
नदीको अस्तित्व खोसिरहेछौ
कसरी बिर्सियौ ?
तिमी नदीहरूको संगमबाटै सागर बनेको
नदी पनि त
खोलाको परिचय आफैँमा गाभेर
बगिरहेछ निरन्तर..

बनाउन भ्याएनन् परिचय
मूलहरूले
जरुवाहरूले
कुवाहरूले
खोल्साखोल्सीहरूले
हो यहाँ, खोल्साखोल्सीजस्तै
खोलाजस्तै
नदीजस्तै
सागरजस्तै
आफ्नो परिचय जोगाउन
कसैको अस्तित्वमाथि धावा बोलिरहेका छन्
लाग्छ…
मान्छे, सागर, नदी, खोला सबै उस्ताउस्तै हुन्
थाहा छ उसलाई
आफू कसको साथले पूर्ण छु
तर, पनि ऊ
अनभिज्ञ भएको अभिनय गरिरहन्छ
साथ दिनेको परिचय गुमनाम राखेर
महान बन्न खोज्छ ऊ
सागरजस्तै

हुन त सागरले पनि भन्दो हो
ऐ नदी ! ऐ खोला ! ऐ खोल्सा खोल्सी
म तिमीलाई चिन्दिनँ
बरु
उदारत देखाएझैँ गरी बोल्दो हो
मैले तिमीलाई
अँगालोमा नलिएको भए
तिमी कता बग्थ्यौ
कता हराउँथ्यौ
छताछुल्ल पोखिएर छरपस्ट हुँदा
कस्ले सम्हाल्दो हो ?
अदृश्य रूपमा
म नदी बनेर
सागर बनेर
तिमीलाई सम्हालिरहेछु

तिमी नसोच
सागरमा मिसिएर
तिम्रो अस्तित्व गुम्यो
आखिर जेमा मिसिए पनि
हामी पानी हौँ
पानीको धर्म
बग्नु र जम्नु नै हो
तर
यो कुरा खोला अनि खोल्सा खोल्सीले
कति बुझ्छन् होला
के उनीलाई आफू सागरमा
मिसिएको थाहा होला ?
यदि छैन भने
सागर,नदीले बुझ्नैपर्छ
अस्तित्वको सरुवात
खोल्सा खोल्सी नै हो

बुझाउनै पर्ने हुन्छ
सागर अनी नदीले
एक्लै बगे खोल्सी हुन्छौँ
सँगै बगौँ सागर बन्छौँ
आऊ
हामी सबै सँगै बगौँ
सबैको पहिचान छ
र त हामी छौँ
सबैको अस्तित्व छ
र त देश छ ।

दुवाकोट,भक्तपुर