हातको छेल पार्दै भनिन् कता पुगिन् साथी
चन्द्रमाले चन्द्रमालाई हेरिन् धेरै माथि

साथी खोज्न कता कता पुगेकी हुन् उनी
घरको माथि हो कि अन्तै कता माथि कुन्नि
चन्द्रिकालाई भेटेपछि गर्दै हेलो हाई
सोधिन् कतै चन्द्रमालाई देखिथ्यौ र बाई !

प्यारी साथी शितलु र साह्रै थिइन् जाती
चन्द्रमाले चन्द्रमालाई खोजिन् अझै माथि

किन चुपो लागेका हौ साथी सबै जना
कता लुकी बसी होलिन् थाहा भए भन
जूनमायालाई भेटेपछि गर्दै हेलो हाई
सोधिन् यतै चन्द्रमालाई देखिथ्यौ र बाई !

बादल फाट्यो अनि बल्ल देखा परिन् राती
चन्द्रमाले चन्द्रमालाई देखिन् आकाशमाथि
चाँदनीलाई भेटेपछि गर्दै हेलो हाई
हाँस्दै भनिन् चन्द्रमालाई देखेँ बल्ल बाई !
—————–
भोर्लेटार, लमजुङ