छन् असंख्य नसाहरू
यो भूगोलका
माटो,ढुंगा र नदीहरूमा
घाम,पानी र हावा खेपेका
तराई,पहाड र हिमालमा
कदापि आउन दिनुहुँदैन भूकम्प
सुरक्षित राख्नुछ यी समग्र नसाहरू
लोप हुन दिनुहुँदैन
मनुष्यले आफैभित्र खोजेर
आफ्नै नैतिकताका नसाहरू
अविरल उमार्नुछ माटोमा
अन्नसँगै नैतिकता
कोर्नुछ ढुंगामा नैतिकताका अंक र अक्षरहरू
नदीको प्रवाहमा
छचल्किनुपर्छ नैतिकता
खस्कन दिनुहुन्न
तराईमा उर्वरताको नैतिकता
चोखै राख्नुपर्छ पहाडहरूमा
वनवृक्ष र वन्यजन्तुको नैतिकता
कदापि पग्लन दिनुहुन्न
हिमालमा हिउँको नैतिकता
हल्ला नगरेरै हल गर्नुछ
जलवायुको जोखिम
आआफ्ना गतिविधिमा नैतिकता थपेर
फुल्नुपर्छ
फल्नुपर्छ
यही माटोमा
हरेक समय पुगेका मनुष्यको
आयुष्य र भविष्य
बनाउनुछ यात्रा सुखमय
चैतन्य चेतनाका नक्साहरूमा
जोडेर नैतिकताका नसाहरू
सुन्दर बनाउनुछ राष्ट्रको भविष्य
अवश्य बोक्नुछ नैतिकता
विकास सँगसँगै
एकताको सुन्दर यात्रामा हिँड्दै पुग्नुछ
मानवताको सगरमाथासम्म
सुगम र सुदूरको सुन्दर भविष्यसम्म।
*****
सिगास–२, बैतडी, सु. प. प्रदेश
हाल: श्री कृष्ण मा. वि.मेलम्ची–४,सिन्धुपाल्चोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला