यस घडी
म शोकमा छु
शोकबाहेक के सोचूँ
सोच्नुपर्छ भन्ने लागेदेखि अरु के सोचूँ, सोचमै छु
आज मैले जीवित र मुर्दाहरूबारे सोचेँ
र देखेँ
मुर्दाहरूमा अनन्त मौनता
अनि जीवितहरूमा अनन्त दुःख
मुर्दाहरू निर्दोष, शान्त र शालीन
तर तिनका जीवित मलामीहरू
युद्धको साइरन बजाउँदै
मातृभूमिमा शान्तिको गीत गाइरहेका
युद्ध र शान्तिको यो कुरुक्षेत्रमा
मैले बुद्धबारे सोचेँ
बुद्ध !
म जीवित छु
म बुद्धत्व चाहन्छु
म बरु मुर्दा बन्छु
तर मलामी बन्न कीमार्थ मञ्जुर छैन
म शोकमा छु
म कहाँ जाऊँ ?
दुःख निवारणका लागि आश्रम गएकै हुँ
जहाँ भेडाहरू पालिएका थिए
गोठालाहरू तिनका ऊन तानेर गाउन बनाइरहन्थे
गुरुकुल गएकै हुँ
जहाँ भेडाहरू पढिरहेका थिए
गोठालाहरू तिनका गिदी भुटेर सितन बनाइरहन्थे
चिकित्सालय पनि गएकै हुँ
जहाँ भेडाहरू चरिरहेका थिए
गोठालाहरू तिनकै बुद्धि बेचेर चिहान घर बनाइरहन्थे
उपासना खोज्दै शिविर पनि गएकै हुँ
त्यहाँ भेडा मालिकहरू यो शताब्दीकै अन्तिम भोजमा थिए
जहीँतहीँ भेडाहरू देखेर
म अवाक् छु, थकित छु
अब त दुःखको लत नै परिसक्यो
दुःख तब पनि लाग्छ जब दुःख हुँदैन
मेरी आमा भन्नुहुन्थ्यो
बुद्धिमा बिर्को लागेपछि मान्छेहरू बन्ने भेडा हो
भेडाहरू कहिल्यै मान्छे बन्ने छैनन्
भेडा भेडा नै हुन्
भेडा बरु गधा बन्छन्
र मालिकबाट बेकाममा जोतिन्छन्
त्यसैले मान्छे बन्नू बाबु
मान्छे बन्न ज्ञानी हुनू
ज्ञानी हुन मन, वचन र कर्मले शुद्ध हुनू
जो शुद्ध छ त्यो नै बुद्ध हो
बुद्ध हुनू
तर बुद्धु नहुनू
भेडाहरूको बथानमा
म बुद्ध कहाँ खोजुँ ?
कहाँ छ प्रेम, अहिंसा, मानवता र मुक्ति ?
अन्तरिक्षका पदचापमा
जल-थलका पिँधमा
मृतहरूका आत्मामा
जीवितहरूका जिजीविषामा
प्रोफेसरहरूका बासी ज्ञानमा
राजनीतिज्ञका दूषित कोटरीमा
कुनै वर्ग, सिद्धान्त, रङ, राष्ट्रवादमा
धार्मिक मठमन्दिरमा
या विज्ञानका ठूलाठूला प्रयोगशालाहरूमा !
म प्रयोगशालाहरूमा पनि गएकै हुँ
त्यहाँ अचेल दिग्गज भेडाहरूका बीज रोपिँदोछ
र युद्धहरु जन्माइँदोछ
मठमन्दिर पनि धाएकै हुँ
त्यहाँ अचेल बर्बर काटमार हुन्छ
मूर्तिहरूमा रगतका छिर्का
भेडाका सिङ, टाउका र वीभत्स ज्यानको खात हुन्छ
र शक्ति उन्मादको हर्षबढाइँ गरिन्छ
हिंसाका कसुरदारलाई माला पहिराइन्छ
बुद्ध !
खै कसरी बताउँ
यो भन्दा क्रुर समयको फेहरिस्त
तिम्रो शान्त भूमि रोइरहेको सूचना
यो समय
म दुःखी हूँ
निःशब्द हूँ, स्तब्ध हूँ
मेरो जैविक घडी रोकिंदोछ
मलाई यो संसारले
बुद्ध र युद्धमध्ये एक चुन्न दबाव दिँदोछ
म प्रार्थना गर्छु
ओ नेपाल आमा
मलाई युद्ध होइन बुद्ध देऊ
मानव भीडले थिचिइसकेको पृथ्वी बचाऊ
यो युगको गर्भमा शान्ति मगाऊ
फेरि एउटा बुद्ध जन्माऊ
उज्जवल दियो सल्काऊ
भगवत्ताको दियो
यो संसारमा त्यस्तो अन्धकार छैन
जुन दियोको प्रकाश निभाउन सकोस्
बुद्ध त्यो प्रकाश हो
त्यो सम्बोधीको क्षण हो
त्यो निर्वाणको अनुभूति हो
मानवता, न्याय, सत्य, अहिंसा हो
जहाँ कुनै भगवान्को दर्शन होइन
एउटा दिव्यताको झलक मिल्छ
जहाँ यो संसार चीरनिद्राअघि शान्त होस्
घोर सङ्कटमा पनि सुखभोग गरोस्
अजर-अमर रहोस् …
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।