असार

रमा खतिवडा

छन्दः वसन्ततिलका
गणः त भ ज गु गु
विश्रामः आठ अक्षरमा

आयो असार धरणी जलमग्न पार्दै
पारेर मृत्ति रसिलो बिरुवा उमार्दै
छैनन् किसान घरमा सब खेतमा छन्
गर्छन् परिश्रम निकै सब जोसमा छन् ।

चाँडै उठेर घरका सब काम छिन्छन्
बोक्दै हलो र चपरा अनि खेत हिन्छन्
खाजा लिएर घरबाट जहान पुग्छिन्
भुल्दै थकान तनको अति हर्षमा छन् ।

गर्जिन्छ मेघ नभमा बिजुली छ उस्तै
थर्किन्छ यो प्रकृतिको मुटुभित्र उस्तै
जे जे भए पनि यहाँ नगरी प्रवाह
आयो असार जगमा अति गर्व साथ ।

वर्षा निरन्तर हुँदा पनि नित्य खट्छन्
खेल्दै हिलो र पसिनासँग काम गर्छन्
रोपेर मानु बिउ अन्न मुरी भरिन्छन्
माटो किसान धरणी सब जिन्दगी हुन् ।

बाढी कतै छ पहिरो छ कतै डुवान
बाधा अनेक सहने बलिया किसान
आओस् असार युगसम्म फलोस् अनाज
होस् अन्नपूर्ण घरमा नरहोस् अभाव ।

पोखरा

देवघाट

डा. हिमलाल पन्थी

छन्दःभुजङ्गप्रयात
गणः य य य य
विश्रामः छ अक्षरमा

तपस्वी स्थली शैलका आसपास
जहाँ छन् सयौं देवताका निवास
यही स्थान हो मोक्षदायी विराट
सधैँ मुक्तिको धाम हो देवघाट ।

त्रिशूली तथा गण्डकी छालमारी
नदी बग्दछन् नाद वाणी निकाली
घुमी नागवेली बगी शैलबाट
झरी मिल्दछन् ती दुवै देवघाट ।

महात्माहरूको तपस्वी स्थली हो
सबै अप्सरा देव घुम्ने पुरी हो
हुँदा दृष्टि अध्यात्म देखिन्छ ईश
यहीँ विष्णु बस्छन् यहीँ छन् महेश ।

उनै भारती वेदका दिव्य वाणी
सबै देवदेवीहरूका कहानी
महायज्ञमा देव भाषा सुनिन्छ
सधैँ वेदका स्वस्ति बाचन् पढिन्छ ।

सयौँ विष्णुका तीर्थ छन् गण्डकीमा
त्रिशूली नदीमा सयौ शैव धाम
यहीँ छन् अनौठा शिला मित्र देव
यहीँ हुन्छ वेदान्त चिन्तन् सदैव ।

बसे गण्डकीमा छ यो देह मुक्त
गरे साधना प्राण बैकुन्ठ पुग्छ
तपस्वी कला साधनामा विराट
सधै मुक्तिको धाम हो देवघाट ।
६ दाङ

धराको स्वर्ग

रमेश पोखरेल

छन्दःमालिनी
गणः न न म य य
विश्रामः आठ अक्षरमा

सगर सहर घुम्ने चाहना छैन कैले
नभ विचरण गर्ने छैन है सौख ऐले
मतमत छ गृहस्थी मग्न दिन्छन् घरैमा
जल थल भरिपूर्णै स्वर्ग नै छन् धरैमा ।

रविकरसँग मागेँ एक रत्ती उज्यालो
हिमगिरिसित भाकेँ शान्ति सौन्दर्य हाम्रो
सगरबिट निहार्दै ज्ञान लिन्छौं घरैमा
अकलगुम नभै नै बाँच्न खोज्छौ भरैमा ।

सकुल सगुण पार्दा स्वर्गझैँ हुन्छ बास
सक सचल भएमा हुन्न कैले निराश
सजन सुरस बन्दा स्वर्ग बन्ने छ देश
अमृतमय भएको भोज नै हुन्छ वेस

सबचिज थलमै छन् के छ त्यो स्वर्गभित्र ?
सँयल पनि यहाँ नै सौम्य छन् इष्टमित्र
समतल धरतीले अन्न दिन्छिन् मलाई
अविरल सरिताले गर्दछिन् है भलाई ।

परम गति सकार्ने कर्मकै साधनाले
अकुटिल जप गर्ने धर्म आराधनाले
गजउटबरि पार्ने छैन ध्याउन्न हाम्रो
अजमय थल नै हो स्वर्गमा के छ तिम्रो ?

लुरुलुरु हिडिराखे मान कैले हँुदैन
खुरुखुरु गरिराखे कालले नै छुदैन
परत गमक छर्ने धर्ममा होमिएर
अवरति लिन पाऊँ कर्ममा लिप्तिएर ।

अमेरिका