
भो नसुनाऊ
सुन्दिनँ ती तिम्रा बजेट भाषणहरू
तिम्रा बजेट भाषणमा छन्
सुन्दर प्रकृतिलाई छिया छिया बनाउने पूर्वयोजनाहरू
नदीका बगरहरू भत्काउने अनुमतिहरू
भोका नाङ्गा नागरिकबाट कर असुल्ने ऐनहरू
धनाढ्यहरूलाई सहुलियत प्रदान गर्ने छूटहरू
नागरिकको स्वतन्त्रतालाई काबुमा राख्ने कानुनहरू
आफ्नै कार्यलाई उत्कृष्ट साबित गर्ने मिथ्याहरू
अनि किन मैले तिम्रा बजेट भाषण सुन्ने ?
त्यसैले
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा बजेट भाषणहरू
तिम्रा बजेट भाषणमा छैनन्
भोको पेट दिन कटाउनेहरूका पीडा
गरिवीले पिल्सिएकाहरूका वेदना
अभावमा बाँचेकाहरूका दैनिकी
नागरिकहरु देखिएका निराशाका चाङ
बाढीले बगाएका पुल पुलेसाका अवशेषहरू
नयाँ निर्माणका भावि योजनाहरू
अनि किन मैले तिम्रा बजेट भाषण सुन्ने?
त्यसैले
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा बजेट भाषणहरू
नदीले झोलुङ्गे पुल बगाएपछि तुइन झुण्ड्यायौ
पक्की पुल बगाएपछि बाटो अवरुद्ध रहेको सूचना निकाल्यौ
नागरिकको घर भत्किएपछि तथ्याङ्क संकलनमा खर्च गर्यौ
बजेट भाषणमा भन्यौ
विपत् पुन:स्थापनामा खर्च गरिनेछ
घर भत्किएको पीडितलाई
विस्थापितको सूचीमा सूचीकृत हुनु चाहिएको होइन
वर्षाको रात कटाउने बन्दोबस्ती चाहिएको हो
पेट भर्ने खाद्यान्न चाहिएको हो
सुन्दा पट्यार लाग्ने नीति चाहिएको छैन
अनि किन मैले तिम्रा बजेट भाषण सुन्ने?
त्यसैले
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा बजेट भाषणहरू
तिम्रा बजेट भाषणमा सुस्ता र कालापानीको व्यथा छैन
भोकले आकान्त कर्णाली छैन
अभावले देश गुज्रिरहँदा तिमी उपलब्धिको गीत गाउँछौ
सदाचारको उपदेश दिन आउँछ
प्रशव वेदनाले नारी ज्यान गुमाउँछिन्
तिमी अस्पताल निर्माणको आश्वासन देखाउँछौ
नागरिकको आजको छाक खाना छैन
तिमी भोलिको सपना देखाउँछौ
अनि किन मैले तिम्रा बजेट भाषण सुन्ने?
त्यसैले
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा बजेट भाषणहरू
तिम्रा बजेट भाषण कोरा शब्दजाल हुन्
सुनिन्छ बिर्सिन्छ तिनले मन छुँदैन
मन छुने बजेट भाषण सुनिनुपर्छ
तिमी कहिल्यै त्यसो गर्न नजान्ने
अनि किन मैले तिम्रो बजेट भाषण सुन्ने?
त्यसैले
भो नसुनाऊ, सुन्दिनँ म तिम्रा बजेट भाषणहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

