ए पृथ्वी तिमी फर्केर आऊ
भङ्ग गर नेपाल एकीकरण
अनि विभाजित गर, हिजोजस्तै बाइसे र चौबीसे राज्यमा मुलुक
सक्छौ भने मान्छेलाई पनि ढुङ्गे युगमा पुर्याइदेऊ
टुक्रा टुक्रा पार राष्ट्रिय एकता
छिन्नभिन्न पार धार्मिक र समाजिक सहिष्णुता
हामी च्यातौँला वीर गोर्खालीको इतिहास
तिमी फेरिदेऊ वीरगाथाको नारा
राष्ट्रिय झण्डा बेचेर स्वार्थको शङ्ख बजाऔँला
मान्छेले मान्छेलाई चपाउने युगमा पुर्याइदेऊ पृथ्वी हामीलाई
अब समाप्त भैसक्यो मानव युग
बाँदर युगका सिकन्दरलाई नरिवल र श्री गणेश के थाहा??
छिमेकीको लुछ्याइँले चोक्टा चोक्टा उक्किएर कुरुप भयो देश
कहाँ छौ पृथ्वी कि जुरुक्क उठेर
आऊ कि प्रेतआत्मा भएर चण्डी नाच
तिमीले यति गर्नैपर्छ, नगरेर हुँदै हुँदैन
तिम्रो कालु पाण्डेलाई यहाँ खसाङ चाहिएको छ
नत्र तिम्रो शालिकमा भाला रोप्छन् र छोप्छन् राष्ट्रिय झण्डाले
तिम्रो भीमसेनलाई यहाँ पगरी चाहिएको छ दिल्लीको
नत्र बोहुलाउँ छन् र पसिदिन्छन् जङ्गल
मारुनी खैँजडीमा घिनाउँछन्
नर्तकीको पञ्जातालमा गम्किन्छन् तिम्रा भीमसेन
निद्रामा बोहुलाएर नेपाली नखोज नेपालमा
त्यो पर मरुभूमिमा बालुवा निचोरेर तेल निकाल्दैछन्
बिरामी आमा फालेर सिमेन्टी उचल्दैछन् समुद्रापारि
नपत्याए विमानस्थलमा हेर चिचिलाको ताँती
त्यसैले पृथ्वी तिमी आऊ प्रेत बनेर
नरसंहार गर तिम्रो सृष्टि
विभाजित हुनदेऊ आआफ्नै हुलमा
चपाउन देऊ मान्छेले मान्छेको मासु
मासिन देऊ अस्तित्व
विलय हुन देऊ विस्तारवादी र साम्राज्यवादीका खुट्टामा नेपाली शिर …।
इटहरी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।