भेडाहरू आफूखुसी चर्न जान्दैनन्
चारो खोज्न न त बाटो आफैँ रोज्न सक्छन्
भेडाहरूको आफ्नै बाटो हुँदैन

आफूलाई बाठो ठान्ने भेडाहरू
एक्लै बस्न रुचाउन्नन्
आफूजस्तैका बथानमा त हुन्छन्
मथिँगल पनि हुन्छ
मथिँगलको ल्याकतभने धितो-बन्दकीमा बन्दी हुन्छ
जोडी आँखाहरू भेडाकै आँखाले हेर्छन्
दायाँ-बायाँ हेर्दैनन्
हा…हा र हु..हुमैं दौडिन्छन्
हातका सिप खिया लागोस्
भर नभएका पाइताला गन्तव्यहीन हिँडोस्
भङालोमा परेर अभर पर्दा पनि चेत्दैनन्
भेडाहरू आफैँलाई चिन्दैनन्

भेडाहरू मात्र भेडा हुन्छन्
उदास नभै
बिन्दास दास हुने भेडाहरूको आफ्नो गिदी हुँदैन

भेडाहरू
आफ्नो माउलाई चिन्दैनन्
आफ्नै बाउलाई मान्दैनन्
तथाकथित बाहरूलाई चवँर हम्काउँदै
झुन्डमा मुण्डविहीन भ्याऽऽऽभ्या भट्याउन तम्तयार
मथिँगलको गर्भमा अरूकै भारी झुन्ड्याएर
मान्छे हुनुमा गर्व गर्दैनन्

जब देख्छु
र, हेर्छु भिडमा भेडाहरू
उस्तै लाग्ने उनीहरूको सोचको ढङ्ग
चरित्रमा बेढङ्गी रङ
आवाजमा बेतुकी जङ
जसमा निश्चित जात वा लिङ्गको भेद नपाउँदा
भिडमा फगत भेडाहरू पाउँछु

हेर्दाहेर्दै –
रातो आकाशको सेतो सूर्य निभाएर
अफिममा लठ्ठिएकाहरू अमूक मालिकलाई सलाम ठोक्न
लाम लागेर आफ्नै मलाम हिँड्दै फाल हाल्छन्
आगोका लप्का बगीरहेको आगोको नदीमा
त्यसै बखत –
केही थान सेतो परेवा आफैँलाई दागबत्ती दिएपछि
आकाश भूइँमा बजारिन्छ
अनि, सूर्य कालो उदाउँछ

यसरी –
आफैँलाई गुमाइसकेपछि
विवेक गुमाइसकेपछि
गुमाउन बाँकी चिनारी गुमाउँछ
आफ्नो फोसिलसमेत गुमाइसकेपछि
न भेडा भेडा रहन्छ
न त निश्चित लिङ्गको मान्छे ।

■■■
धरान, हाल : पेप्सीकोला, काठमाडौं ।