आमा
यी आँखाले देखिने सबै चिज नै त दु:ख रहेछ
सुख त उही बादलजस्तो पो रहेछ
एकै छिनमा उडेर जाने
वर्षात् हुन
छातीमा पीडाको राँको चर्किएझैँ
खोई कुन बेला उडेर आई छोपिँदोरहेछ
ठोकिएर उही परेलीमा पोखिदोरहेछ आमा
आमा
आज जिन्दगी अँध्यारो छ भनेर
किन चिन्ता गर्नु हुन्छ ?
औंशीलाई नखेपी कसरी जून मुस्कुराउँदै
पूर्णिमा आउँछ र आमा
उही दु:ख अनि खुशी…
आमा
बा एउटा गमलामा रगत रोपेर
बसाईं मात्र सर्नु भएको हो
ताकि आफैँ हुर्कियोस् भनेर
हामी पनि त त्यहाँ एक दिन जानु नै छ
बस् ढिला या चाँडो
थाहा छ आमा मलाई
मलको धोक्रोमाथि कोक्रो बोकेर कमाएका छाकहरू
तारा खसेझैँ देखिने छानाबाट
हावा हुरी पानी अनि तुसारो
छिरेका रातहरू
भुरा पढाउन बेचिएका नारीका चुराहरू
मूल भाँचिएका हाँगाझैँ भएका टुहुराहरू
रमितेमा रमाइरहेका दुनियासँग जुधेर
हामीलाई ब्रह्माण्ड नै पढाउने अदम्मे आँटहरू
होइन र…?
टाल्दाटाल्दै सकिएका चोलीका शरीरहरू
हामीलाई पेट भराउन
आफू शोक बोकेर हामीलाई सोख दिने आत्माहरू
सन्तानको खुसीको लागि आफूलाई पल पल मारी
निःस्वार्थ गरिएको माया र जिम्मेवारी
बोकेर पीरको चाङ
बनेर भर्याङ
आकाश छुवाउने सन्ततिलाई
हिजो अभावमा खाली पेट हुँदा
आज त्यही खाली पेटमा दबाई खाइरहेकी छ्यौ
तिमीले जस्तो गोड्यौ हामी त्यस्तै हुर्कियौँ
तिमीले जस्तो रोप्यौ हामी त्यस्तै छौँ
आमा
केही दिन सक्दिनँ
बस्
खाली पेटमा खाने दबाई टुटाउन नसकूँ
टालटुल गरिएको चोली फेर्न सकूँ
फुटेका कुर्कुच्चाले काँडा कुल्चिनु नपरोस्
मै मरी जाउँला बरु
तिम्रो काख सधैँ हेर्न सकूँ
आफ्ना रहर मासेर मेरालागि बगाएका रगतको
गुण त तिर्न कहाँ सक्छु र ?
यति गर्न सकूँ
हरेक तिम्रो पाइला धर्ति टेक्दा
जूनले पनि डाह गरोस्
फूलले पनि आहा गरोस्
परायाले पनि पर्व गरोस्
सूर्यले पनि गर्व गरोस् ।
गौरीशंकर गाउँपालिका
सुरी, दोलखा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।