सिंगो दिन कहिल्यै जिउन सकिएन

उज्यालो खसे पनि
घामको उज्यालो ममा अभाव रहिरहन्छ

ओझेल परेको आनन्दका हरेक समय
उम्किएर छरपष्ट हुन्छ
अनि
दिन भएर शुरू भएको मेरो एक टुक्रा जीवन
छताछुल्ल भएर पोखिन्छ

आशा गर्नु नै जीवनको समाप्ति रहेछ !
वास्तवमा

आशावादीलाई
अवसरवादीले जित्न सफल हुन्छन्

लाग्छ
यो जीवन मन्दिरको घण्टी हो!
जसले पनि बजाएर जान्छन्
मौका मिले उखालेर लान्छन् मलाई
बेचेर मलाई दुइ रूपियाँ पैसा कमाउँछन्
तालाबन्दी भएर
प र … पलेँटी कसेर बसेका भगवान्
हेर्छन्!
भन्दैनन् केही

लाग्छ
यो जीवन कसैको भाडामा बाँचेको छ
भाडा कै कोठाजस्तै भएर!
न यहाँ अधिकार हुन्छ आफ्नो
न छोड्न सकिन्छ
न जोड्न सकिन्छ

किराया सकिन्छ
सकिन्छ सबै यहाँ

दिन पूरा हुनु भनेको खुसीको सीमा रहेछ
आधा छोडेर जानेहरूले बरू मज्जाले उत्सव मनाउने चलन छ यहाँ
दिनको उज्यालो प्राप्त हुनु भनेको
कुनै प्रिय सम्बन्धको साइनो रहेछ

धेरै सम्झौता गर्नुपर्छ यहाँ
आफ्नो दिन पूरा निकाल्न

लेख्न सिकाएको छ यो अनुभवले!

र नै…!!
बाँचेको छ जीवन
मेटेर
फेरि लेखेर
मेटेर
फेरि
लेखेर।

आधा दिन भित्र बसेको यो समय छ
तब
बाँच्न बाध्य छ
खोसेर जीवन के बाँच्नु
रोजेर बाँच्न मन पराउँछ!
डरले जीवन के बाँच्नु
सामना गरेर बाँच्न मन पराउँछ

अब त ऐनामा आफ्नै अनुहार पनि आधा देख्छु
यो आधा दिनजस्तै।

 

दार्जिलिङ