झझल्को आइरहन्छ चन्द्रमाको
आज पनि, अझै पनि
जुनेली रातको पर्खाइमा आँखा थाकेका छैनन्

सोच्थेँ‑
मनै त हो, मनाउँला
कुरै त हो, बिर्सिउँला
यादै त हो, मेटाउँला
निकै साहसी छु जस्तो लाग्थ्यो, तर हैन रहेछु
नजिकबाट बुझिसकेझैँ लाग्थ्यो, तर रैन रहेछु
महसुस हुन्थ्यो प्रेम बन्धनमा बाँधिएको
निकै प्रगाढ रहेछ क्यारे, अझै अल्झिरहेछु

भन्छ मनले: अतितका पाना पल्टाई केही तीता-मीठा पलहरू केलाउँदै केलाउँदै वर्तमान सजाउनु

थप्छ मनले: हरपल हरक्षण पछ्याइरहने सम्झनाको लहरलाई समेटी निरन्तर बगिरहने खोलासँगै किनारा लगाउनु

म हेरिरहेछु
सुनिरहेछु
मनले मनसँग गरेको संवाद
केही प्रश्न र तिनका उत्तरहीन जवाफ
मौन छन्
आज मेरा ओठहरू
दोषी देखाउँछ आज मलाई आफ्नै मनले
भन्छ: कसैलाई प्रेम गर्नु पक्कै गलत हैन
तर,
एकतर्फी प्रेमले
दोहोरो सम्बन्धलाई सदा टिकाउँछ कसरी ?
हुनसक्छन् जताइएका निश्चल भावना स्वार्थी भए
आशा अपेक्षा ज्यादा भए…भैगो छोडौँ
कहिलेसम्म सम्झनाको तान बुनिरहने ?

अनुत्तरित प्रश्न सामू
आज आफ्नै झुकेको छ शिर
कोसिस गरिरहेछु अघि बढ्न
घिसार्दै यो थाकेको शरीर

आफ्नो कथालाई अब आफैँमा अटाउन
उडाउने छु खुल्ला आकाशमा
ती यादहरूलाई- झझल्को मेटाउन ।