सहर्षौं संघर्षशील लक्ष्य लिएर
हिँड्छ मसलधारे गडगडाहट स्वरले कराउँछ
बलशाली वीरभद्रझैँ

हिमाल र पहाडको टुप्पो तटस्थझैँ
उभिन खोज्छ वैरीको निकट
ती वर्षौंदेखि लल्कारिरहेको
गुञ्जायमान स्वरलाई समाप्त गर्न
ज्वालामुखी विष्फोट हुन खोज्छ
ज्वारभाटाको लहराले
क्रोधले पिलपिलाउँछ समुद्र
मृत्युको ताण्डव गर्न

जब सोमरसकै जलपानले
मनमगन हुन्छ आकाश, पाताल
र/कामवासना, भोगविलास उत्तेजनामा उत्तेजित भई
लुटिन्छन् अशक्त चेलीबेटीहरू
तृप्त हुन्छ कामुकता लोभी मन
नाङ्गो निर्वस्त्र, विद्रुप दृश्य देख्दछ
निर्दोष नयनले मौन भई

पुनश्च क्रोधित हुन्छ रक्त नली
सञ्चार गर्छ रगतकै धार
शिरा, धमनी रक्त केषिकाहरूले आवेशमै आएर
लडिरहन्छ कुनै दुई विपक्ष शत्रुहरूझैँ रणभूमिमा
र/विजय हुन खोज्छ
कुनै प्रतियोगिताको प्रतियोगीजस्तै

जो सत्यभन्दा असत्यको मार्ग रोजेर
चुमिरहेछ सफलताका शिखर
पुण्यभन्दा पापको घैलो बोकेर
हिँडिरहेछ
आ-आफ्नै चेलीबेटीलाई
मायामोहको जालमा फकाउन
र/निर्दोष युवायुवतीलाई बेचबिखनको सिकार गर्न
अझ पनि डुलिरहेछ स्वार्थी मन

यस्तै गरेर नजाने
कति औं घरपरिवार छुटिएको होला
कति औं आमा सन्तानहीन भएकी होली
यी प्रश्नहरू खेलाउँदा खेलाउँदै
मौनतामै ज्वालाझैँ दन्किरहेछ हृदय ।

 

सिरहा, गा.पा. सखुवानन्कारकट्टी-३