देशमा नै बसिरहने
सौभाग्य पाएका प्रिय कवि !
देश त बिग्रिएकै हो
आमाको छातीमा
फूलको रस निख्रिएकै हो
खै कसरी गएको हो पहिरो
टिम्बर काट्नेहरूले जानून्
कसरी बेचिएको हो नागरिकता
देश बेच्नेहरूले जानून्
जंगे पिलर
मैले सारेको होइन
ठुल्दाइको थिचोमिचोमा
मेरो मिलेमतो भएन
माल अड्डामा
घुस खान सकिनँ
लाला बाला
भोकै राख्न सकिनँ
भनसुनको मनसुन
धेरै अग्लिएछ
पाउ मोलेर छुन सकिनँ
आकाशे वर्षामा
भर परेँ
रगत सुकुन्जेल
पसिनाका तर झरे
मेरो पेट भर्न सकिनँ
तपाईं रिसाउनु हुन्छ
परदेशीले देशको माया
गर्न हुन्न भन्नु हुन्छ
हामी त गरिरहन्छौँ
अन्यथा नमान्नु होला
तपाईं
देशमा नै बस्नुहुन्छ
पैसै पैसाको जोहो गर्नुहुन्छ
आफ्नै मात्र घ्याम्पो भर्नुहुन्छ
देशको माया गर्यो भन्दै
परदेशीलाई सराप्नु हुन्छ
तपाईं भाग्यमानी
कहिले
बीपीको भक्त
कहिले सीपीमा अनुरक्त
कहिले
बार्दलीको अर्दली
कहिले सन्त
कहिले अन्त हुँदै
मेरो पालो खोसिरहनु भयो
मेरा सपनामा आगो झोसिरहनु भयो
अन्यथा म त मान्दिनँ
मैले पठाएको रेमिन्ट्यान्समा
तपाईंको
भागशान्ति कत्ति जान्दिन
तर
आफ्नो घरबाट प…र
प…रको देशमा बस्दा पनि
देशको माया नगर
भन्नुहुन्छ तपाईं त
तपाईंले भनेको मान्दिनँ
अन्यथा नमान्नु होला !
साँच्चै भन्नु भयो
देशको चिन्ता
तपाईंले गर्ने हो ?
अनि देश बनाउने कि नबनाउने ?
जिम्मा तपाईंकै थियो
देश बिगार्ने पनि तपाईं हो
अन्यथा नमान्नु होला
फरक यत्ति हो
यतातिर
रातभरि घन्टा हानेर
आफ्नै कर्म खोटो मानेर
फेसबुकमा
चिल्ला गाडी र
अग्ला घरका फोटा हानिन्छ
दुखेको मन शितल पारिन्छ
(छुटाइएको ) छुटेको देश
आफ्नो ठानिन्छ
र आँशु झर्छ
गोहीका होइनन् ती आँशु
अन्यथा नमान्नु होला
माफ माग्दिनँ
वरिष्ठ कवि !
हिजो पनि
आज पनि
भोलि पनि
मेरो देश बिगार्ने
तपाईंकै जिम्मा हो ।
न्युयोर्क
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।