प्रिय कवि
तिमी देशभक्त
म परदेशी
हाम्रो औक़ात मिल्दैन कि ?
तिमी देश बनाउन
देशका खोला-नाला जड़िबुटी कन्दमूल
अनि कस्तूरी आदिले नपुगेर
मान्छे बेच्नेका सहायक
म
प..र देशमा आफ्नो पसिना बेच्छु
सन्तान पाल्न र पालिन
कत्रो अन्तर छ हामीमा
भन तिम्रो र मेरो
हैसियत मिल्दैन कि ?
अन्यथा नमान्नु होला !
म
एक हलको पाखो बारीमा
मकै कोदो भट्टमास लगाउॅंदा
बाँदर कुर्दा
बाँदरबाट कुटिएर
अपाङ्ग भएकी छोरी पाल्न
बूढ़ी भएकी आमा
मुटुको बिरामी बूढ़ा बाको
औषधी खर्च जुटाउन नसक्दा
साँझ बिहानको गर्जो टार्नका निमित्त
भोक बेचेर भोजन किन्न
पसिना रोपेर पैसा फलाउन
परदेशिएको एक परदेशी
तिमी देश बनाउने
जिम्मा लिएका
भ्रस्टाचार र अत्त्याचारको
किलो गाड़ेर मै हो भन्ने
देशद्रोहीका अन्धभक्त,
धमिराले जस्तै
देश खोक्रो बनाउनेका
सहोदर बनेका छौ
हाम्रो स्तर मिल्दैन कि?
अन्यथा नमान्नु होला !
मलाई
रहर थिएन वर्षा झरी बादल
खड़ेरीको घाम छेक्न
एक सरो
लुगा किन्न नसक्दा
एक जोड़ी चप्पलमा
फित्ता चुट्टिँदा
खरको डोरी बाटेर
हिँड्न पर्दाको अवस्था
खै के भनू ?
प्रिय कवि
एक वर्षकी छोरी बिस्तरामा छोड़ेर
भक्कानिदै निस्केको
हिजो जस्तै लाग्छ
देशको, माटोको मायाले मात्र
पापी पेट भरिँदोरहेनछ
र त
मैले मनभरि देशको
अथाह माया बोकेर
आकाशको यात्रा शुरू गरेकी थिएँ
मजस्तै लाखौंले देश छोडेका हुन्
दुई छाक टार्नकै निम्ति
र आज पनि
अन्तर्राष्ट्रिय विमानस्थलमा
उस्तै घुइँचो छ परदेशिनेको
के परदेशिने सबै
नेपालको माया नभएकै हुन् त?
अन्यथा नमान्नु होला
तिमी देश भक्त रे
जो मैले र
म जस्तैले पठाएको
रेमिट्यान्सले
तलब थाप्ने
सरकारी भत्ता पचाउने
अनि देशभक्त बन्दै देश बनाउने ?
कति बनायौ त देश ?
के के बने विकासका योजना ?
गरीबले अकाल मृत्यु वरण गर्न त पर्दैन नि?
कोही भौकै बाँचेका त छैनन्?
म र म जस्ता
देशको माया गर्न अधिकार नहुनेहरूले
गाउॅंकी माइली, साइँली, हर्के बिर्खे
बिरामी पर्दा
गाँस काटेर राहत (चन्दा) उठाउन त पर्दैन नि?
दमाई दाइलाई अछुत भनेर हेला किन गर्छौ!
समान रूपमा किन देख्दैनौ
दिनभरि तिम्रो खेत जोत्ने हली सार्की दाइलाई
किन बलेँसी पर आँगनको डिलमा बस्न लगाउँछौ
के त्यो मानव हैन र ?
देश बनाउने तिम्रा नीति नियम र कानुन
किन परिवर्तन हुन्नन्?
खै के बनायौ त ?
प्रिय कवि
अन्यथा नमान्नु होला !
विदेशमा कतै ५५ डिग्रीको
चर्को घाममा डढेर
कतै ५ डिग्रीको चिसोमा कठांग्रिएर
कोही रातको
अनि कोही दिनको काम गर्नु पर्छ
परिवारको सदस्य भेट् हुने नै
हप्तादिन कुर्न पर्छ
अब म र म जस्तै
लाखौँ अनागरिकहरूलाई
तिमी र तिमी जस्तैले
देशको माया गर्नबाट
वञ्चित बनाउॅंछौ भने
रेमिट्यान्स बिना देश चलाऊ
विदेशका जस्ता फ़ेसन मात्र हैन
विकास नियम र क़ानुन पनि
देशमा परिवर्तन गर !
आफ़ूलाई र आफ्नो निम्छरो सोचलाई
फराकिलो बनाउॅंदै देश बनाऊ
अनि हामी प…र देशमा
देशको चिन्ता हैन गर्व गर्न सकौँ
त्यसैले प्रिय कवि
अन्यथा नमान्नु होला !!
गुल्मी, हालः लण्डन
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।