मलाई मैदेखि बचाऊ
भन्ने हो भने
म आफैँसँग सुरक्षित छैन

गणना गर्ने हो भने
आफूले अरुलाई मारेका घटनाभन्दा
आफूले आफैँलाई मारेका घटना धेरै छन्

आफूले आफ्नै सपनाहरूको हत्या गरेर
आफ्नै सपनाहरूको मलामी हिँड्ने मै हुँ
आफैँले आफ्ना सपनाहरूको दागबत्ती दिएर
अरुका सपनाहरूको जन्ती हिँड्ने पनि मै हुँ

अब त खासमा भन्ने हो भने
अब डर मात्र मलाई आफैँसँग छ
म कुनै पनि बेला
आफ्नै नवजात सपनाहरूको हत्यारा बन्न सक्छु

आलो रगत देख्दा रिंगटा लाग्ने म
कमलो छु, सुरो छैन
आफैँले आफ्ना सपनाहरूको हत्या गर्न

तर म गरिरहेछु
आफ्नै सपनाहरूको हत्या गरेर
मनको भूगोलबाट फरार भएकाहरू
मेरै भूगोलको कारागार वरिपरि छन्
उनीहरू विदीर्ण रुन्छन्, कराउँछन्
यो बेला म उनीहरूलाई होइन
आफैँलाई सम्झाउँछु
किनकि उनीहरूले
मेरा सपनाहरूको हत्या गरेकै होइनन्

म पनि रुन्छु, कराउँछु
आफ्नै पीडाका लागि
आफैँसँग प्रतिप्रश्न गरिरहेका ती आक्रोशका लागि

म अब दोष कसलाई दिउँ
दोष म अब कसलाई दिउँ
मेरा आफ्नै सपनाका जीवनको
हत्या गर्ने मुख्य नाइके म नै हुँ

आज म आफ्नै जिन्दगीको र
आफ्नै अदालतको कठघरामा उभिएर
आफैँलाई सत्य बयान दिँदै छु
र दोषी पनि आफैँलाई करार गर्दै छु

तर आज म उज्याला पहाडबाट खसेर
धेरै तल आइपुगेको छु
मसँग खानका लागि चिसो पानी होला
तर मसँग दिल खोलेर हेर्नका लागि
कुनै ठूलो विशाल मैदान छैन

म अहिले असमञ्जस खोँचमा खुम्चिएको छु
आफूले आफैँलाई
आफ्नै अदालतले दिएका सजायबाट घेरिएर
अब सायद आफैँले आफैँलाई दिएको सजाय आजीवन हो

मैले मेरै शासनको जेल तोडे पनि
म पुग्ने अब अर्को संसार छैन

मसँग गुलाबहरू छैनन् आफैँलाई उपहार दिन
मसँग छैनन् गुलाब रोप्ने मलिलो माटो
अझ मैले ती गुलाबका भुइँ निमोठेर आएको छु

आखिर मनमा उर्वर माटो नभएपछि
आखिर मनमा फूलको अस्तित्व नभएपछि
आखिर मनमा मनकै लागि फूल नभएपछि
मनको अदालतबाहिर
फूलहरू रोप्नु र सजाउनुको के अर्थ रह्यो
किनकि
मैले आफैँले आफैँलाई हत्या गरेर आएको हुँ
दोषी करार गर्न आफैँ आफ्नै अदालत आएको हुँ

आफैँले आफैँलाई दिएका सजाय भोग्न
आफ्नै मनको कारागार आएको हुँ
तर अझै पनि भन्ने हो भने
म आफैँसित कत्ति पनि सुरक्षित छैन
किनकि जुनसुकै बेला म
आफ्नै नवजात सपनाहरूको हत्या गर्न सक्छु ।