बाल्यकाल उस्तै पीडा, तनाव र अभावमा मेरा बितेकै थिए
साथीभाइ सब मेरा थरकै कारण एक एक गरी टाढा हुँदै गए

संघर्ष गर्दा गर्दै विद्यालय शिक्षा पुरा गरेँ, सारै खुसी थिएँ
बुबाआमाको आँखामा खुसीका आँसुहरू टिल्पिल गर्दै थिए

जब जिन्दगीमा सफलताका सिंढीहरू बिस्तारै उक्लँदै थिएँ
मुहारमा मुस्कान अनि मनमा अथाह सपनाहरू बुन्दै थिएँ

संघर्ष गर्दागर्दै उत्तीर्ण गरेँ परीक्षा शिक्षक सेवा आयोगको
नियुक्ति लिएर हाजिर गर्न जाँदा भयो यति धेरै बिजोग पो

शिक्षाको ज्योति छर्ने कति उत्साह र खुसी मनमा थिए मेरा
मन साह्रै दुख्यो जब भने, “तिमीलाई बस्न गाह्रो हुन्छ यहाँ”

मेरो थरमा किन यति आपत्ति हजुर एकपटक भनिदिनोस् न
एकचोटि मनैदेखि आफ्नो साथीभाइ सोचेर त हेरिदिनोस् न

रगत त मेरो रातै हो नि हजुर, मेरो पनि मन साह्रै नै दुख्ने
बौद्धिक व्यक्तिहरूले पनि भेदभाव गर्दा झन् साह्रै मन रुने

मेरा लागि बस्न एउटा सानो कोठा समेत दिन किन नमिल्ने?
खाजा खान जाँदा, विद्यालयका सर म्यामहरू उठेर जानुहुने

म पनि शिक्षक नै हुँ, मलाई किन यस्तो भेदभाव होला हुने?
ढुंगारुपी विश्वकर्माको जयजय तर हाम्रो होइन रहेछ जानेँ

ए हजुर, दुई वचन त कमसेकम नरम र मीठो बोलिदिनोस्
आउनुस् सँगै बसी एककप चिया पिम् भनेर त भनिदिनोस्

कुनै दिन मेरै रगत पनि कसैलाई आवश्यक पर्दैन होला र?
मान्छेलाई यस्तो व्यवहार गर्ने, मन्दिर गएर मात्र धर्म हुन्छ र?

संविधानका धारा अनि कानुनका दफामा यसो आँखा लगाएँ
दसतावेज छ तर वास्तविक जीवनमा निकै कठिन थाहा पाएँ

मन टुक्रिए पनि आत्मबल मेरो कहिल्यै पनि टुक्रिन दिने छैन
म एकदम गर्व गर्छु मेरो जातिप्रति, झन् संघर्षशील बनाउँदै छ

ढिलो चाँडो अवश्य पनि परिवर्तनका किरणहरू ल्याउने नै छु
जिन्दगीमा सफल र उत्कृष्ट शिक्षकको छवि निर्माण गर्ने नै छु।

 

 

शिक्षक
मनमैजु मा.वि,काठमाडौं