चुम्बनको गुप्त क्यानभासमा
अस्तित्वको प्रशान्त छाल
मैथुन कलाको
अद्भुत जीवन्त चित्र उतार्छ

एक स्निग्ध मृदुस्पर्श
जैविक इकोसिस्टमको
अनन्त शृङ्खलामा
नयाँ जीवनको बिजकण छर्छ
सम्मानपूर्ण कामुक इच्छा
धड्कनको
संगीत सागरमा
चरम आनन्दको सुनामी उठाएर
जीवन गीतमा नयाँ धुन भर्छ

मैथुनी महान् संयोग
समर्पित विछ्यौनामाथि
जीवनधाराको मधुशालामा
कामुक नृत्य गर्छ
अमरावतीको वैभवशाली भोग
सुटुक्क उदाउँछ
प्रेमिल अंकमालमा
रतिका रोमाञ्चक घुर्कीहरू
कामदेवको एकस्पर्शमा
सृष्टिको गतिमा समाहित हुन्छन्

वासना भोगको अतृप्त प्यास
सम्मानको पुष्प शैयामा
थपक्क
आत्मसमर्पण गर्छ
धर्ती आकाशको मिलन बिन्दु
अमृत स्पर्शमा
अस्तित्वको स्मारक उठाउँछ

जीवन मुक्तिका
अपुष्ट अधुरा रागहरू
जीवन मोहको लोभमा लुटपुटिएर
दीर्घायुको जिजीविषा पाल्छ

कुतूहलपूर्ण वैंसालुवय
क्यानभासको रंगमा
रोमाञ्चित चुम्बनको चित्र नियाल्छ
छेउमा
अधरको प्राकृतिक स्पर्श
कृत्रिम गर्भ निसेचनको
वैज्ञानिक प्रयोगशालामा तुहिन्छ

चुम्बनको अभूतपूर्व पराग
तप्केनी भएर तपक्क खस्छ
धर्तीको कापमा
सिर्जनाको गुप्त क्यानभासमा
मिलनको रंगीन रात
सृष्टिको पाना खोलेर
आफ्नै प्रतिबिम्बको चित्र उतार्छ

यौनलीलाका मादक तरङ्गहरु
जुनपल तरङ्गित हुन बिर्सन्छन्
जीवन प्रवाहको नदी
छ्याप्छुप्प सुक्छ
मैथुनक्रियाको अन्त्य
मानव अस्तित्वको विसर्जन हो।

 

दमक, झापा