गहिरो प्यासले आफ्नै रगत पिएर
अन्तिम पटक
खेतमा उभिएको मकैको पोथ्रोको कन्काल
मौन कुल्चिरहेछ खेतको प्यासले चिथोरिएको छाति
र उक्साइरहेछ
विपनाको मौन मलामीमा काँचो रगतको आँशु पिएर
एक्लै टोलाइरहेको किसानलाई
र भनिरहेछ
म तिमीहरू मरिरहेको हेर्नुभन्दा अघि नै मर्न चाहन्छु

आऊ अन्दाधुन्द रेट मेरो घाँटी
म तिम्रा बालबच्चाको पेट रेटिएको हेर्न सक्दिनँ
म तिम्रा साहुले तिमीहरूलाइ लछारेको पनि हेर्न सक्दिनँ
म तिमीहरूलाई ऋणको पासोमा अझै बाँधिदै गएको त झन् पटक्कै हेर्न सक्तै सक्दिनँ
प्यासले प्राण लुछ्नै आँटेको म
तिम्रा खाली कसौडीको आवाजले झन् मुर्छित हुन्छु
यी सब देख्नुअघि नै मलाइ मृत घोषणा गर
अन्तिम पटक अँगालो मारेर धक फुकाएर रोऊ

रेट मेरो
घाँटी
र लेख
सपनाको चिहानमा उभिएर
खेतको पोस्टमार्टम रिपोर्टमा
“आत्महत्या” ।

 

हेटौडा-५, सिंचाइ टोल