एक थुङ्गा फूल
चुँडेर दिन्छु ! प्रिया
तिम्रो कालो कपाल सँग कति सुहाउँछ
साँच्चै तिम्रो अनुहार
फूल भन्दा हँसिलो
जुन भन्दा चम्किलो
हेरिरहुँ लाग्ने
चन्द्रमाको उज्यालो किरण जस्तै छ
तिम्रो मिठो बोलीमा
कोइलीको धुन मिसिएझैँ
तिम्रा वस्त्रहरूले
रूपको प्रशंसा गरेझैँ
तिमी फूल भन्दा
राम्री छौ

माथि लेखमा
फुलेका लालीगुराँस
तल बेसीका
राताम्बे लालुपाते
गुम्बा छेउको
बुक्की फूल
सबै सबै
फिक्का लाग्छ प्रिया
वनमा फुलेका फूल भन्दा
मेरो मनमा फुलेकी तिमी
फूल भन्दा
कयौँ गुणा राम्री छौ

तिमी बगैंचामा बसेर
फूलहरू हेर्नुपूर्व नै
कयौँ फूलको अनुहार
लाजले रातै हुन्छ
हिमाली छायाँमुनि
पहाडी पाखामाथि
देउरालीको वरिपरि
फुलेका फूलहरू
तिम्रो मुहार देखेर
लजाई रहेछन्
साँच्चै तिमी राम्री छौ ! प्रिया

तिमी कोपिला छँदा
जति सुरक्षित थियौं
त्यत्ति नै असुरक्षित
फक्रिएपछि भएकी छौ
जाली भमरा भुन्भुनाउँदै
पुतली फिर्फिराउँदै
तिम्रो कोमल छातीमा

चुम्न आइरहन्छन्
भमराले तिमीलाई
चुमेर मात्र जाँदैनन्
अपवित्र बनाएर जान्छन्
स्वार्थ पूरा गरेर जान्छन्
एक्लो बनाएर जान्छन्
फूल भएर फुल्नु तिम्रो गल्ती होइन
गल्ती भमरा बाटै हुन्छ ।