विश्वरसिंह मेवाहाङ

म युद्धमा बुद्ध खोज्ने मान्छे
तिमी जतिसुकै भड्काऊ मलाई
म क्रान्तिमा शान्ति खोज्ने मान्छे

मेरो विवेकको मालिक तिमी हुन सक्दैनौ
तिम्रो सनकको दास म हुन सक्दिनँ
तिमी ज्वालामुखी निकाल्छु भन्छौ
म ज्वालामुखी निल्छु भन्छु
तिमी आँधी ल्याउँछु भन्छौ
म आँधी रोक्छु भन्छु
तिमी रगत बगाउँछु भन्छौ
म रगत बनाउँछु भन्छु
जब हाम्रो गन्तव्य नै फरक पर्छ भने
हामी कसरी एकाकार हुन सक्छौँ ?

म त असत्यमा सत्य खोज्ने मान्छे
तिमी जतिसुकै भुलाऊ मलाई
म कथ्यमा तथ्य खोज्ने मान्छे

मैले खोज्नु छ
आफ्नै निधारमा आफ्नै भाग्य
मैले रोज्नु छ
आफ्नै धर्ममा आफ्नै कर्म
मैले टेक्नु छ
आफ्नै आँगनमा आफ्नै छाँया
मैले फेर्नु छ
आफ्नै विश्वासमा आफ्नै निश्वास
र बाँच्नु छ मैले यो संसारमा
मेरो आफ्नै निजी अस्तित्व र पहिचान
अरुको पाइला टेकेर
अरुको औंला समातेर
अरुको आँखाबाट हेरेर
अरुको मुखबाट बोलेर
मैले कुनै जीवन जिउनु छैन

म त अभावमा नवाफ खोज्ने मान्छे
तिमी जतिसुकै होच्याऊ मलाई
म गहिराइमा उचाइ खोज्ने मान्छे

जब मेरो बलेँसीमा धाँजा फाट्छ
तिम्रो आश्वासनको के काम ?
जब मेरो पलेँटीमा चट्टान खस्छ
तिम्रो सहानुभूतिको के अर्थ ?
जब मेरो छानोमा चट्याङ खस्छ
तिम्रो तर्कनाको के उपयोगिता ?
जब मेरो मानोमा शून्यता आउँछ
तिम्रो पूर्णताको के मतलब ?
विद्रोह गर्नु परे म आफैँसँग गर्छु
बलिदानी दिनु परे आफ्नै मर्जीमा दिन्छु
म आशमा हुन्नँ
म त्रासमा हुन्नँ
म हतासमा हुन्नँ
म भासमा हुन्नँ
मेरो दलानमा म आफैँ विराजमान हुन्छु
मलाई कसैको सलामीले छुन्न

म त हिंसामा अहिंसा खोज्ने मान्छे
तिमी जतिसुकै निभाऊ मलाई
म चिहानमा बिहान खोज्ने मान्छे ।

~ ~ ~ ~

चिला – २, संखुवासभा