शदियौँदेखि उभिँदा उभिँदा
थाकेका छैन हिमाल
पग्लिँदै, जम्दै
जमेर फेरि पग्लिँदै
क्लान्ति छैन उसको मुहार

डुब्दै, उदाउँदै
उदाएर डुब्दै
गलेको छैन घाम
न त बर्सिएर सिध्धिएको छ
बादलभित्रको पानी

जुगौँजुगदेखि बगेर पनि
कहाँ रित्तिएका छन् खोला अनि नदी ?
हरेक अवरोध सहेर पनि
छोडेका छैनन् सगर चुम्ने यात्रा

अनवरत फेर्नुपर्ने साससँग
फिटिक्कै निराश छैन प्राणी
फक्रिएर ओइलिँदै झरेर
फेरि फक्रिनु पर्दा पनि
सुवासिन छाडेका छैनन् फूलहरू

अकाट्य परिवर्तनसँग
हारेका छैनन् ऋतुहरू
न त रोकिएको छ
बसन्तको आगमन

उम्रिदै, मासिदै
मासिएर फेरि उम्रिनु पर्दा
हरेश खाएका छैनन् रूखहरूले
पलाउँदै, काँटिदै
काटिएकै ठाउँबाट पलाउन
उत्तिकै आतुर छन् हाँगाहरू

आकाशमा उड्दाउड्दा
दिक्क मान्दै चराहरूले
छोडेका छैनन् उडान भर्न

हो,
म पनि थाकेको छैन जीवनका
उकाली ओरालीसँग
हार अनि जीतसँग

आशा अनि निराशासँग
माया अनि रिससँग
क्लेष अनि तुषसँग

अहँ म हारेको छैन
घात, प्रतिघातसँग
आशक्ति अनि लोभसँग

म निराश बनेको छैन
कहिले नसकिने यो अनिश्चय
अनि लामो यात्रासँग

किनकि म सिसिफस हुँ
म सिसिफसको कहिले नथाक्ने ढुङ्गा हुँ
ढुङ्गा गुडाउन
धकेल्न कहिल्यै नछाड्ने
सिसिफस हुँ म ।

चोभार