(दश मुक्तक)

उपत्यका

 

मन्दिरै मन्दिरको शहर थियो
घरै घरको शहर भयो
गाडीको शहर बन्दै

 

गरिबी निवारण

 

चढेर त हेर
तीन अरबको धरहरा
गरिबी देखिन्छ नै कहाँ ?

ढल

 

ढल हो काठमाडौं
नियमित बग्छ यहाँ—
मान्छेको ढल
कहिलेकाहीँ ढलमा मान्छे पनि !

माफिया

 

भूमि त सकियो
अब कब्जा गर भूमिमुनि
भूमिगत … …

 

देश विकास

 

सबै विकास यहीँ खन्याऊ
यै खाल्डो त हो—
नेपाल !

विपरीत बुद्धि

 

घोत्लिँदै छ ऊ—
काठमाडौंमा कहाँनेर विकास गरुँ
भरखरै दुर्गमबाट जितेको नेता !

बैगुन

 

गाउँको बखान गर
शहरलाई सराप
काठमाडौंमा बसी बसी !

 

सहनशीलता

 

जति सरापे पनि
केही मान्दैन काठमाडौं
उसलाई थाहा छ
कोही कतै जाने हैनन्
उसलाई छोडेर ।

 

आत्मघाती आकर्षण

 

सुन्दरताकै कारण
लुटिँदै छ
काठमाडौंको सुन्दरता !

अमरावती

 

अझै सुन्दर छ
काठमाडौंको आकाश
कवि भानु, त्यतै हेर्नू
र कविता लेख्नू !

 

स्रोतः न्हू प्रेष्टिज नेपाः (मासिक)

अनुवादः कवि स्वयम्

 

कवि परिचय

आर. मानन्धर (ई. १९६६) मूलतः नेपालभाषाका लेखक हुन् । विशेषतः दर्शनलाई विषयवस्तु बनाएर लेख्ने कविको रूपमा परिचित छन् । यदाकदा उनी समसामयिक विषयवस्तुमा पनि लेख्छन् ।
उनका पुस्तकहरू नेपालभाषामा ‘कुलांया थिया’, नेपालीमा ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’ प्रकाशित छन् । साथै, उनी अंग्रेजी पुस्तक ‘कन्सियस लीडरशिप ः अ जर्र्नी विथइन’ का लेखक पनि हुन् ।

मूल नेपालभाषामा