एक अनौठो प्राणी हो पिता
जसलाई जंगलको बाघले खाँदैन
जसलाई शहरका राक्षसले खाँदैनन्
जसलाई खाडीको गर्मीले छुँदैन
जसका कुनै रहर र भोग विलास हुँदैनन्
अरुको मन दुख्छ तर पिताको दुख्दैन
अरुले गुनासो गर्छन् तर पिताले गर्दैन
पिताहरू आँसु बगाउँदैनन्
किनकि तिनका आँसुमा
बगेर जान सक्छन्
तिनका सन्तानका सपनाहरू
थकाइलाग्दा पनि नथाकेझैं गरी
ठेस लाग्दा पनि नलागे झैं गरी
कहिल्यै नबिसाइएको त्यो जिम्मेवारीको भारी
आफ्नो थाप्लोमा बोकेर
युगौंयुगदेखि लड्खडाएरै भए पनि
यहाँको उबडखाबड बाटोमा हिँडिरहने
पिताका ती जिम्मेवार र शानदार कदमहरूको
किन गाइएन इतिहासमा कुनै गाथा ?
छातीभरि बोकेर
अलिकति देखिने माया
अलिकति नदेखिने माया
अनि आँखाभरि सजाएर
परिवारका एक एक सपनाहरू
कर्मभूमितर्फ लमकलमक लम्किरहने एक पिता
के कुनै आमा जत्तिकै श्रद्धेय प्राणी हैन र ?
हो, पिताले सन्तानलाई आमालेझैं आफ्नो गर्भमा राखेन
तर यसबाहेक उसले अरु के गरेन ?
त्यस्तो अनौठो प्राणी हो पिता
जो भाग्दैन कतै, जो लुक्दैन कतै
पितालाई महँगीले छुँदैन
पिताको खल्तीमा बरु ऋणको तमसुक होला
तर सन्तानको लागि मन्दी हुँदैन
सन्तानको लागि एक पिता
समाजसँग जुध्छ
सरकारसँग जुध्छ
संसारसँग जुध्छ
सबै पिता उस्तै नहोलान्
तर धेरै पिता त यस्तै हुन्छन्
ठीक त्यसरी
जसरी धेरै आमाहरू उस्तै हुन्छन्
कहिलेकाहीँ दुनियाँ सुतिसक्दा पनि पिता सुत्दैन
कहिलेकाहीँ दुनियाँ थाकिसक्दा पनि पिता थाक्दैन
कहिलेकाहीँ दुःख पीडा र महँगीको चापले आत्तिएर दुनियाँ कराउँदा
पिता पनि बरु दुनियाँ बनेर दुनियाँसँगै कराउला
तर एक पिताको रुपमा पिता कराउँदैन
किनकि
एक पिताले आँसु देखाउने
रहर सुनाउने, अनि गुनासो गर्ने
परिवारमा अर्को कुनै नाता पनि त हुँदैन
हो, यो सत्य हो कि
एक आमाको पीडा आमालाई मात्रै थाहा हुन्छ
तर यो कुरा पनि उत्तिकै सत्य हो हजुर
कि एक पिताको पीडा पनि पितालाई मात्रै थाहा हुन्छ ।