हात, खुट्टा, शरीर भिन्नाभिन्नै
आचार विचार बेमेलको हेलमेल
खेलीमेलीको जोडजाम
रहस्यमय जीव जन्मेको छ
शारीरिक संरचना
गुण प्रकृतिका बारेमा
बुद्धिविलास अभ्यास चल्न थालेको छ
निचाल तरङ्ग
स्वार्थको खेल भन्दै छन्
आजीवन अँगालेको विचार
पतनोन्मुखमा रमाएको झुण्ड
पानी बाराबारवालाको मिलन
उता रमिते बनेको पारपाचुके
विपरीतलिङ्गीको आलिङ्गन भन्दै उफ्रदै छ
सुकेनास भुँडी प्यात्त झुण्डिए जस्तो
चौमुखे एकता दुर्गतिको जमात
ऋतु परिवर्तनको परिवेश भएको छ
आश्चर्यको मिलन प्रायोजित विछोड
नवीन उत्पत्तिको स्वागत गरिदै छ
अचम्म हुँदै होइन
तर बजार गरम छ
घिसेपिटेका चिरपरिचित अनुहार
कोरीबारी गर्दैछन्
मिटरब्याजे तमसुक लेख्ने खप्पिस लेखनदास
रातारात आश्चर्य जन्म दिन्छन्
फजुल मिलनको नजिर उतिसारो फलिफाप छैन
कता कता नामकरण नयाँ नौलो होइन
टुटी फुटी जुटी सकिदै हराउँदै जोडिएको जस्तो
डेन्टिङ्ग पेन्टिङ्गले नयाँ देखिएन
श्रीमती भित्र्याई अविवाहित भनिएजस्तो
कमजोर मानसिकता उदाङ्गो भएको छ
खल्बलिएको मानसपटल धमिलो भएको छ
अनिष्ट ठानेर हुइँय्या गर्ने अत्तालिएका छन्
जनताबाट रिजेक्ट हुने डरले
मोर्चा परफेक्ट हुन खोजे छ
भ्यागुताको धार्नी जहिले नि अधुरो
खुट्टा तानातान मुक्का हानाहान
शत्रुलाई मित्र, मित्रलाई शत्रु बनाउने खेल
फलिफाप देखिन्न
खुलेआम टेण्डर खुलेको छ
भारी बोक्न कराउनेहरू
सुन्दर कचहरीमा कुरुप बसे जस्तरी
उही थेगो बजारमा छ
स्थायी शत्रु र मित्र हुँदैनन् राजनीतिमा
फकिट्टा बेजातीय खेलाडीहरू
बालुवाको महलमा रमाएका छन्
तीलबाट पहाड बनाउने कारिगर
भविष्यको जोखना हेर्दैछन् ।
महालक्ष्मी ०१, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।