सम्पादकः यम रेग्मी

युवा

हरिप्रसाद पौडेल स्वर्णशिखा
छन्दःमञ्जुभाषिणी गणः स ज स ज गुरु विश्रामः तीन र नौ अक्षरमा

अब लाग कर्म पथमा सबै युवा
चढ दिव्य ज्ञान रथमा सधैँ युवा
बन सौम्य बिम्ब प्रतिबिम्ब चेतका
खन मार्ग उन्नति गरी नयाँ नयाँ ।

सब छोड दुर्व्यसन ज्यान मासिने
नव थाल काम शुभ नाम पाइने
अतिचारको गर विरोध सर्वदा
असमान छोड व्यवहार सर्बथा ।

गर जोसको सदुपयोग काममा
गर शक्ति साहस प्रयोग काममा
भर ज्ञान चिन्तन नयाँ दिमागमा
छर बुद्धि चेत गतिलो समाजमा ।

लड भोक, रोग, गरिबी हटाउन
लड अग्नि भेदसितको निभाउन
नव क्रान्तिका बिजन छर्नुपर्दछ
सब भ्रान्तिका तपन हर्नुपर्दछ ।

भर मृत्तिका मुलुकको अनाजले
नर तुच्छ हुन्न बुझ काम काजले
असली बनेर नमुना युवा तिमी
सिँच स्वेदले श्रम गरी रुखो जिमी ।

रारा प्रेम

माधव पोखरेल गोज्याङ्ग्रे
छन्दः शार्दूलबिक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

रारा स्वर्ग समान देशभरिको पानी सदा कञ्चना
रारा लाग्छ परी समान नभकी शोभा दिने वन्दना
रारा हुन् शिरकी यसै भुवनकी त्यो चन्द्र तारा सरी
रारा हर्ष खुशी दिने सगरकी जाडो र वर्षा झरी ।

रारा ताल सुतेर छाल लहरी फैलाउँदै कन्दरा
रारा लेक रमाइलो भुवनको नेपाल हाम्रो धरा
रारा ताल किनार चौर छ यता भेडा चरेका अति
राराझैँ अरु छैन ताल रमिता घोडा सवारी कति ।

रारा हुन् युवती सरी भुवनकी लोभ्याउने तालमा
रारा यौवनकी परी भुवनकी पार्ने महाजालमा
रारा हेर्न पुगेर मोहित हुने सारा विदेशीहरू
रारा हुन् मदिरा पिएर पथिका मात्ने गरेका बरु ।

रारा लेक रमाइलो मुलुककै सारा रमेका अति
रारा कै रमिता जहान घरमा पालेर खुशी कति
रारा कै भरमा कमाइ दिनकै घोडा सवारी हुने
राराले सब रोजगार परका राखेर पाल्दा हुने ।

रारा बाँच्न सिकाउँने मुलुककै दानी र खानी दुबै
राराभित्र छ शक्ति पार नहुने सौन्दर्यशाली खुबै
रारा हौ मुगुकी धरा तर तिमी लाग्छ्यौ परी अप्सरा
रारा नै मुटुको छ धड्कन बुझौँ यात्रा हुने उर्वरा ।

रारामा छ हरेक जात थरिका डाँफे चरी वा अरू
राराबाट हिमाल देख्न सकिने सिस्ने खडा छ बरू
रारामाथि पहाड भीर पहरा सैपालको श्रृङ्खला
रारा पास अनेक नाम थरका बस्ती थिए पातला ।

रारा स्वर्ण धरा सरी भुवनको नेपाल चिन्हाउने
रारा धाम भनेर धाउन गए सैपाल जिस्क्याउने
रारा सूर्य उदाउँदा गगनमा नाँचेर रम्ने कति
रारा लेक पहाड खोंचतिरको हावा छ सेक्ने अति ।

रारा पावनझैँ सदा मुटुभरी बस्ने गरेकी जून
रारा मानवको दह्रो हृदयमा आस्था बनेकी किन रु
रारा हेर्न जमात आउन सके फेरिन्छ चोला पनि
राराकै भरमा त आश्रितहरू हाँसेर बोल्थे अनि ।

रारा प्रेम भयो र यो धरणिमा टेक्यौँ दुई पाइला
राराको रमिता भयो मनहरी धेरै भए फाइदा
रारा स्वप्न भरी चियाइ रहने आँखा भरी गाजल
राराले मनमा बनाउँछ सधैँ धेरै खुशी पागल ।

रारा स्वागतमा बिहान पखमा कुर्दै गरेकी टुसा
रारा सूर्य उदाउँदै जलभरी हाँस्दै गरेकी उषा
राराको गतिमा छ छाल लहरी मस्केर हाँस्ने बरा
रारा कै छ सुवाष यो भुवनमा क्या स्वर्गझैँ भो धरा ।
१०
रारा फेँद पहाड खोंचसँगको लाली दलेझैँ गरी
रारा स्वर्ग परी भएर मनमा बस्छिन् नि राजै गरी
रारामा छ अथाह तागत बुझौँ तान्ने गरेको बटु
राराको त हुँदैन लास कहिले यो ब्रह्म साँचो कटु ।
११
रारा ताल अनेक यौवनसँगै खेल्ने बडो शानले
रारा वैंस छँदैछ जान्न कहिले भागेर जो ज्ञानले
रारा पर्यटकीय दीप नभकी फुल्ने सधैँ गर्वले
रारा फूल भएर ती अतिथिमा हाँस्छिन् सधैँ हर्षले ।
१२
रारा सूर्य उदाउँदा गगनमा टेक्दै नयाँ पाइला
रारा जान हिडेँ हजार जन ती जेठासँगै माइला
राराको रमणीय क्षेत्र मुगुको हो लेकमा तैरिने
रारा स्वर्ग समान हो र नभको यात्रीसँगै वैरिने ।
१३
रारा पर्वत काखमा सुतिरहिन् फैलाउँदै वन्दना
रारा मौन धराभरी छ सुशिला सैपालको चन्दना
रारा राग अलाप छैन कहिले बोलाउँदै तापमा
रारा शीतल शान्त ताल गरिमा फैलाउँदै रापमा ।
१४
रारा पावन तीर्थझैँ छ सबको पुग्दा मनै लोभिने
रारा स्वच्छ जवानमा हरघडी माया बसाईं दिने
रारा गौरवले सदा मुलुकमा बस्दै गरून् दीर्घले
रारा हेर्न रमाउने पथिकका माया दया प्राप्तले ।
१५
रारा रात निदाउँदै दिनभरी वैंशालुमा उत्रिने
रारा वैंश फिजाउँदै गगनमा शोभा दिदै तैरिने
रारा उर्वर भूमि हो पवनको हेर्दा सफा सुग्घर
रारा तान्छ धरातिरै पथिकको यात्रा हुने सुन्दर ।
१६

नेपाल प्यारो

वीणा रोका
छन्दःइन्द्रवज्रा
गणः त त ज गुरु गुरु
विश्रामः पाँच अक्षरमा

नेपाल प्यारो छ सदैव हाम्रो
सौन्दर्यताले भरिपूर्ण राम्रो
सङ्गीतझैँ सुन्छु नदी बहेको
छङ्छङ् गरी शब्द भनी रहेको ।

चट्टान वा पर्वत पत्र पत्र
अग्ला चुरे ती वृक्षलता विचित्र
हेरी बसौला वनमा झुलेका
अहो१ बढो सुन्दरले फुलेका ।

सेताम्य सारा कति हो हिमाल
सग्ला चुरे भावर छन् पहाड
पानी चिसो ताल खुबै भरेका
देखिन्छ अग्ला झरना झरेका ।

झुल्ने तराईतिर अन्न बाली
त्यस्तै पहाडी वन हुन्न खाली
चौपाय पाल्ने घरमा किसान
यो नै थियो पूर्वजको निसान ।

प्यारो अझै सुन्दर लाग्छ गाउँ
आफ्नो हुनाले म बसी रमाऊँ
टल्किन्छ आफै शिरमा प्रभात
सर्वोच्च अग्लो धवला प्रख्यात