प्रकृतिको इजलासमा उभ्याएर

समयले जिन्दगीको तस्बिर

आँखाअघि तेर्स्याइदिएपछि

आफ्नै अनुहार देखेर

तर्सिएको छु म- मानव

 

सृष्टिको छातीमा तोप पड्काएर

विकासका बुख्याँचाहरू खडा गर्दैमा

कहाँ सजिदो रहेछ मानिसको ओठमा मुस्कान

कहाँ भरिदो रहेछ फूलहरूमा रङ र सुवास

कहाँ सुनिदो रहेछ नदीको सुसेली र अट्टहास

कहाँ छेक्न सकिदो रहेछ आकाशको स्वच्छन्दपन

कहाँ रोक्न सकिदो रहेछ हावको वेग र चञ्चलता

कहाँ  आउँदो रहेछ र सबैको सुखको बिहान !

 

प्रकृतिले कहिले भुलेन आफ्नो कर्म

आमाको काखजस्तो निःस्वार्थ धरामा

विध्वंसका अनेकन रागहरू अलाप्दै

मैले नै नाचेको हुँ अनगिन्ती ताण्डव

र, पारिदिएको हुँ क्षतविक्षत यसको स्वरुप

यसको परिभ्रमणको बाटो बिथोल्न्ने मै हुँ

त्यसको भयावह फल भोगिरहेछ वर्तमान

 

गर्नु छ अब प्रायश्चित

आफ्नै भूलहरूको टिपोट गरी

माफी माग्दै बताउनु छ दुनियाँलाई

यो भूगोलको सौन्दर्य हर्ने

हामीलाई कुनै अधिकार छैन

पृथ्वीको सिङ्गो अस्तित्व मुटुमा राखेर

लालीगुरासजस्तै सुन्दर

सगरमाथाजस्तै उँचो

समुद्रजस्तै शान्त

बुद्धत्वजस्तै  पवित्र

सबैको साझा पृथ्वी

जोगाउनु छ  सबैका लागि

सन्ततिका लागि ।