प्रिय कवि !

प्यारी कवियत्री !

तिम्रा सिर्जना

यो नजरमा उदाउँदा

वस्तीभित्र

जंगली हस्तीको

साम्राज्य फैलिँदै छ

त्राहीमय वातावरणले

जीवात्मा छट्पटाइरहेछ

 

हृदयलाई सान्त्वना दिन

म तिम्रो कविता

सुमसुम्याउँदै छु

कविताको शीर्षक:

भोगाइका कुराहरू

तुलनात्मकसँग जोख्दै

निजात्मक भाव पोख्दै

कविताको समितासित

साक्षत्कार गर्दै छु

 

जनताको पसिना सोसेर

समृद्धि सपना खोसेर

सत्तामा उन्माद भएर

यशले मातिएको

शासक समक्ष

दानवले बाहेक

अन्यले सम्बन्ध गाँस्नै सक्दैन

 

प्रिय कवि !

प्यारी कवित्री !

कविताको किनारबाट

व्याकरणकोटीमा चढेर

कविताको भङ्गालोमा

शयर गर्दैगर्दा

कतै बिम्ब छुटेको छ

कतै व्यञ्जन छुटेको छ

सामान्य

ह्रस्व र दीर्घ

अनि

आलाङ्कारिक धारमा

कवि बिम्बमा चुकेको छ

शब्द चयनमा

कवियत्री छुटेको छ

 

समग्रमा कविता यथार्थ छ

कविका शब्द सागर गहिरो छ

कवियत्रीको भाव गहन छ

अन्तिममा परै बसेर

प्रिय कविका

प्यारी कवियत्रीका

कवितामार्फत

उसैका निम्ति

सुटुक्क सम्झने हृदयेन्द्रलाई

हार्दिक शुभेच्छा

जय साहित्य

जय लेखनी ।

~~~~~

गजुरी ५, धादिङ