आमा
मलाई असल बन्नु
भनेर आशीर्वाद नदिनु है
सार्है गार्‍हो छ यहाँ
असल बनेर बाँच्न

पल पल मरेर
स्वाभिमान गिराएर
तल झर्नुपर्छ

कैले आफैँले आफैँलाई
बिर्सेर
आफैँलाई कुल्चेर
अघि बढ्नुपर्छ

मनले नगर भन्दा भन्दै पनि
यहाँ कयौँ कामहरू गर्नुपर्छ

त्यसैले आमा
मलाई
असल बन्नु भनेर आशीर्वाद नदिनु है
खिइँदै गएको असलपन बीच एक्लै बाँच्न गाह्रो रहेछ ।

हेरेर बाटा र गोरेटाहरूले गिज्याएझैँ लाग्छ
मन भारी हुन्छ
अनि यात्रा
सिध्याउँझैँ हुन्छ
यहाँ बाटो बिराउनेहरू
दुनियाँ पिराउनेहरू
आलिशान महलका मालिक भएका छन्
बाँचुञ्जेल मालिक
मरेपछि शालिक भएका छन्
मलाई भने एउटा सानो झुपडीभित्र
शिर लुकाउन पनि धौ छ
त्यसैले बाबा
मलाई असल बनेस् भनेर
आशीर्वाद नदिनु है
असल बनेर बाँच्न साह्रै अप्ठ्यारो रहेछ

पाइला पाइलामा तेर्सिने प्रश्नहरू
जवाफ खोजिरहने ती कानहरू
हरेकले लिइरहने परीक्षामा
पलपल परीक्षण भैरहनुपर्ने
फेलहरूको जेलमा कोच्न खोज्नेहरूसँग
कतिञ्जेल पौँठेजोरी खेलूँ

असल हुँ
असल छु
असल बन्छु
भनेर लामो यात्रा हिँडेको पनि त हुँ
तर आज म आफैँ
असल हुनुको परिभाषा खोजिरहेछु

भेटिएको छैन अझै
त्यसैले आमा
अब मलाई
असल हुनु भनेर आशीर्वाद नदिनु है
साह्रै गाह्रो छ यहाँ
असल बनेर बाँच्न ।

सिन्धुली
हालः पोखरा