प्रकृति
जहिल्यै
जहाँ
जतिखेर
विना थकान
विना लालच
बेहिसाब
निरन्तर बाँड्छे
बाँडिरहन्छे उपहार

हावा
पानी
हावापानी
निःशर्त
नि:स्वार्थ
चाहे जति
म, तिमी र हामीले
ग्रहण गर्न सक्छौँ
न फर्काउने गरी
न ब्याज
न त साँवा

मेरो महिमा
गरिमा
न बुझेर महत्त्व
या
बुझ पचाएर
विकासको नाममा
आधा गाग्रो छचल्केझैँ
अगल्चो योजनाले
न मास्ने
विकल्प हुँदै
मैमाथि खनिन्छौ
दोहन भइरहेछु
मलाई फरक परेन म मरे
फरक पर्नेछ तिमीलाई
तिम्रा आकृतिकालाई

खोलाखोल्सीमा डोजर कुदायौ
कोपार्यो हरियो डाँडो
सडक बन्यो जङ्गलबीच
रहलपहल दाउरा
काट्यो मनमानी
सट्टामा रोपेनौ बिरुवा
झनझन घटेँ
जति जति रुनुपर्छ म
जति अनाहकमा मास्छौ मलाई
हाँस्नेछ धुलोधुँवा
नाच्नेछ खरानी
तातिनेछ पृथ्वी
ओजोन तहको रुवाइले
जलवायु परिवर्तन भई
अक्सिजन तिमीलाई हुन्न
त्यति छोटिनेछ
तिम्रो हातको आयु ।

म्यामराज राई
हतुवागढी -६, होम्ताङ्, भोजपुर ( हाल : जापान)