चिस्यानको अप्रेसन थिएटरबाट
चिसो हावाको बन्ध्याकरण गरेर
भर्खरै निस्किएका छन्
एकहुल शहरिया चेतना

तपाईं सोच्दै हुनुहोला
किन घटिरहेको छैन शहरको तापिलो ज्वरो
झन् झन् बाफिइरहेछ सहरको आँत
के निस्कियो होला ल्याबको रिपोर्ट
कस्ले गर्यो सिटीस्क्यान र केलायो चेतनाका त्यान्द्राहरू
किन छुन सकेन सहरी एन्टिबायोटिकको फर्मुलाले
चिस्यानको चेतना

किन भै रहन्छ
शहरको चेतनाको गर्भको मिस्क्यारेज
र परिरहन्छ चेतनाको खडेरी
सास झिकेर परेड खेल्दै गरेका ताता हावाका बथानहरू
किन आइरहन्छन् स्कुलको डेक्स बेन्च चिथोर्न
म यतिबेला स्कुलको पङ्खाको धैर्यसँगै
ती कलिला नानीबाबुका मष्तिस्क
गुगल क्लाइमेट प्रेडिक्सनमा खोजिरहेछु

पल पल बिजुलीको श्वास थिचेर बाँचिरहेको प्राधिकरण
नगरका बादशाहका कोठासम्म
निरन्तर कसरी पुग्दोरहेछ ज्यूहजुरीमा
सोचिरहेछु

हेरिरहेछु
म जेनेरेटरको अथक परिश्रम
शहर उसै त सुगर र प्रेसरले थलिएको जुग भै सक्यो
अब थपिएको छ बाफिलो माइग्रेसनले
सोचिरहेछु
यी यावत् रोगहरूको कारखाना खोलेर
शहर के निर्यात गर्छ होला

बन्द गरेर रेफ्रिजेरेटरको तखतामा चिस्यानको श्वास
किन तातो बाफ ओसारिरहेछ सडकको बतास
किन चौतारोको प्रेमले चिथोरिरहेछ सहरको करङ
किन गाँउको चिस्यानको सम्झनाले बाडुल्की हुर्याइरहेछ
म शहरको भव्यताको लालपुर्जा बोकेर
गाउँको सम्झनामा
बोकेर चिस्यानको चेतनाको दीर्घरोगको पुर्जा
शहरको इमर्जेन्सी भ्यान्टिलेटरमा दैनिक झुन्डिरहेछु

प्राधिकरण
निभाएर क्षण क्षण करेन्टको प्रवाह
तौलिरहेछ जेनेरेटरको उत्तेजनाको मूल्य
हाकिम बैठकमा सुनाइरहेछ
ब्याट्रीवालाको भव्य गरुङ्गो फाइलको डेलिगेसन
र निचोरिरहेछ पलपल बिजुलीको श्वास
र सुनाइरहेछ
उहीँ पुरानै ट्रान्सफर्मर बिग्रिएको फोटोकपी कथा
र हामी बाध्यताले पत्याइरहेछौँ जुगौँदेखि
उकुसमुकुस पाकेर
फेरि कोसिस गरिरहेछौँ
त्यही नउठ्ने ल्यान्डलाइनको प्रतिउत्तर

यतिबेला निधारको पसिनाले
एसीको चर्को मूल्य
क्याल्कुलेटरको मस्तिष्कमा हिर्काइरहेछ
र घटाइरहेछ डिस्काउन्टको झिनो आशा
र झस्किरहेछ चिस्यानको सम्भावनाको प्लटबाट
रहरले आँत सुकेको मान्छे ।

सूर्य !
पृथ्वी डढाएर केको न्यानो खोजिरहेछ
किन घाम आगोका कोइलाहरू ओकलिरहेछ
सडकका अल्कत्राहरू पग्लदै छरपस्ट दौडिरहेछन्
म निर्दोष उसिनिइरहेछु फोक्सोको बाफले
पैँचोको चेतनाको कलमीबाट पलाइरहेछन्
आगोका हाँगाहरू
तेर्स्याएर प्रश्नको हतियार आफ्नै छातीमा
चिन्ताको कठघरामा उभिएर
सोचिरहेछु स्कुले नानीबाबुको तातो त्रास

सोचिरहेछु,
कसरी पिउँदै होलान् ती नानीबाबु तुम्लेटका ताता झोलहरू
कसरी चपाउँदै होलान् टिफिनका आगाका कोइलाहरू
सोचिरहेछु
पङ्खाको घिटघिटी साक्षी राखेर
यतिबेला के सोचिरहेका होलान्
त्यो मौन कलिलो मस्तिष्कको हुल
विद्रोहको कुन अध्याय पढ्दै होलान् ती कलिला चेतनाहरू

म यत्तिबेला
खोजिरहेछु गर्मी बिदाको ठ्याक्कै परिभाषा
किनकि

मलाई
भेटेरै एकपटक
नगरको बादशाहको एसीलाई सुनाउनु छ
गर्मी बिदाको परिभाषा
र सोध्नु छ
बिस्फोटन हुनुअघिको
स्कुले नानीहरूको मस्तिष्कको औसत टेम्प्रेचर ।

 

हेटौडा-५