अस्तव्यस्त, बेताल, बेसुर जिन्दगी
तिमी हुँदा सुन्दर लय जस्तै होस्
सँगै हिँड्दा अप्ठ्यारो, तगारो
महसुसै भए पनि, नभए जस्तै होस्
दुःखले पनि नदुखाए जस्तो होस्

तिमी ममा, म तिमीभित्र रहेजस्तै होस्
गइसक्दा पनि साथ भएजस्तै होस्
नछोए पनि महसुस छोएजस्तै होस्
एक्लै हुँदा तिमी साथै भए जस्तै होस्
तिमी नभए पनि सँगै भए जस्तै होस्

निष्पट्ट अन्धकार तिमी भएपछि
घामले उज्यालो ल्याएजस्तै होस्
वर्षाको पानीले निथ्रुक्क रुझूँ म
तर महसुस नभिजाएजस्तै होस्
तिम्रो अभाव सजायजस्तै होस्
साथ मात्रै पनि आफैँलाई सजायजस्तो होस्

तिमी साथ हुँदा अशान्त
एकान्त गीत गाएजस्तै होस्
भिडभाडबाट कोलाहल हराएजस्तै होस्
सधैँभरि तिमीले मलाई मैले तिमीलाई
साथ, भरोसा, टेवा, आँटले चलाएजस्तै होस्

तिमी ममा, म तिमीमा बिलाएजस्तै होस्
तिमीले मलाई मैले तिमीलाई मिलाएजस्तै होस्
तिमी नभए पनि सँगै भएजस्तै होस्
नछोए पनि महसुस छोएजस्तै होस्
सम्झना मात्रै पनि साथ रहेजस्तै होस्

पानीमा जसरी घुल्छ नूनचिनी
हाम्रो जीवन पनि एकअर्कामै विलय होस्
तिमी नहुँदा जस्तो सुनामी आउँछ मेरो मनमा
म नहुनु तिम्रो लागि त्यस्तै प्रलय होस्
मुखै नखोल्दा पनि बोलाएजस्तै होस्

म बाँधिउँ तिम्रो मायामा
बन्धन तर नबाँधिएजस्तै होस्
मिसिँदा हाम्रो जिन्दगी
स्वतन्त्रता नसाटिएजस्तै होस्
तिमी र म हराऔं एकअर्कामा
मैले तिमीलाई, तिमीले मलाई पाएजस्तै होस्

रिसराग पनि नरिसाएजस्तै होस्
आँखै बिझाउँदा पनि नबिझाएजस्तै होस्
तिमी नभए पनि सँगै भएजस्तै होस्
गइसक्दा पनि साथै भए जस्तै होस्

तिमी मेरो म तिम्रो भएजस्तै होस्
सताएको पनि नसताएको जस्तै होस्
लजाउँदिन म, तर लजाएकोजस्तै होस्
सम्झनु नै साथसाथ भएजस्तै होस्
तिमी नभएपनि सँगै भएजस्तै होस् ।

चोभार