म आकाश नियालेर हेर्छु
कठै! आकाश पनि
बादलको जत्थाभित्र
जकडिएको पाउँछु
किनकि अचेल प्रकृति पनि
कसैबाट निमोठिएर होला
हरेक प्राकृतिक कुराले
एकार्कालाई आक्रमण गरेझैं लाग्छ
अनि एकार्काको दुश्मन बनेझैं लाग्छ
उता हेर्यो बनमा फुल्ने चाँप, गुराँसहरू पनि
निरसतालाई अँगालेर झोक्राएझैं लाग्छ
कारण प्रतिकूल मौसम र तातो वायुले
ती ऊर्जामय सुन्दर फूलहरूलाई पनि
अन्याय गरिरहेछ
विडम्बना! यो कस्तो प्रकृतिको खेल हुँदैछ ?
जहाँ रुखका पातहरूलाई हल्लाएर सुसेल्दै
एकार्कामा चुम्बन साट्न लाउने
हावाका झोंका पनि अचेल
मन्दगतिमा सुस्ताइरहेछ
म सोच्ने गर्छु यो कमजोरी कस्को हो ?
यहाँ कुन नियतिको खेल भइरहेछ ?
हरिया वन,जंगलमा खेल्ने
ती अबोध पशुहरू
डढेलोको ज्वालामा जलेर
मृत्यु रोज्न बाध्य छन्
जंगलका अनेकौं झारपात,जरिबुटीहरू
डढेर सखाप छन्
यस्तो प्रारब्ध भोग्नुको कारण
के प्रकृतिकै दोष हो ? वा मान्छेहरूको ?
कस्ले निर्क्यौल गरिदिने ?
घर, आँगनमा फुल्ने कोपिलाहरू
असुरक्षित भएझैं
वनजंगलका कोपिलाहरूको पनि
उस्तै नियति छ
अब यिनको रक्षा गर्ने कस्ले ?
लाग्छ, अब प्रकृति पनि असुरक्षित छ
मान्छेकै कारणदेखि
मान्छे पनि आफू असुरक्षित छन्
आफ्नै कारणदेखि किनकि
पर्यावरण धुमिल बनाउने योजनाकार नै
स्वयं मान्छे भएपछि
अब प्रकृति पनि रोगी भएको छ
उसलाई पनि स्वच्छ वातावरण चाहिएको छ।