लुकेर हेर्दैछ जस्तो लाग्दैछ कसैले
म चनाखो बन्न खोज्छु
म आफैँ लुक्छु
एउटा बिल्कुल निरर्थक प्रयास !
म दौडिरहेको हुन्छु
कोही पछ्याइरहेको हुन्छ
म लखेटिएको हुन्छु सधैं
एक मिनेट !
कतै भ्रम त होइन यो मेरो ?
म सत्य र माया निफन्न प्रयत्न गर्दछु
एउटा रुमल्लिएको निरर्थक प्रयास !
म देख्दछु एउटा आकृति उभिएको
ठीक मेरै सामुन्नेमा
नजिक जान्छु; कदम बढाउँछु
हेर्छु त्यो आकृतिको अनुहार, उठाएर नजर
म स्वयं आफ्नै अनुहार पढ्न थाल्दछु
म आफैंलाई देख्दछु, आफ्नै अगाडि उभिरहेको !
म स्मरण गर्न खोज्छु मेरा सबै यादहरू
म आफ्ना सबै क्रियाहरूको अर्थ सोच्न खोज्छु
म अन्तरद्वन्द्वमा जान्छु, आफैँसँग वाकक्रीडा गर्दै
म बुझ्न खोज्छु आफैँलाई
मलाई थाहा छ, यो खबर बाहिरिनासाथ
मलाई म रहन दिने छैनन्;
यो यान्त्रिक दुनियाँ
म आत्मिकलाई सुनाउन एउटा घोषणा लिएर बसेका छन्
मलाई “पागल” करार गरिएको घोषणा !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।