
अनजान परदेशमा
एक्लै बसेर
उखरमाउलो गर्मीमा पनि
ज्यानलाई रातोदिन धसेर
तिमीले पठाएका
पसिनाका मोतीहरू खेलाउँदै रमाउन त सकिन मैले
पटक्कै सकिनँ
तिनीहरूको चमकमा मैले
–तिम्रो निधारबाट तप्पतप्प खसेर
तातो बालुवामा छप्पछप्प बिलाइरहेको
तिम्रो जवानी देखें
–तिम्रो अनुहारमा मडारिइरहेका
दुखकस्टका अनेकौं भुमरी देखें
–अत्यधिक थकाइले तिमी छटपटिंदा
बिच्केको तिम्रो निद्रा देखें
–घरको तरुनो यादले निथ्रुक्कै भिजेको
तिम्रो सिरानी देखें
र, तिनको दमकमा मैले
–तिम्रो मालिकको जर्रो किचकिचाहट सुनें
–तिम्रो हाकिमको टर्रो करकराहट सुनें
त्यसेले लगेर राखेकी छु, मुद्दतीमा, थपक्क
यता घरको चिन्ता नलिनू
जस्तै परे पनि सम्हाल्ने म छु
तिमी आउने विश्वासमा
–मैले लिएका व्रतहरू कसिला छन्
–मैले गरेका धैर्यहरू रसिला छन्
तिमीले पठाएको तिम्रो पुरुषार्थमा
आफ्नो पनि केही थपेर
जम्मा गर्ने सामर्थ्यको सदुपयोग गरेकी छु
अब त केही गर्न सकिन्छ भन्ने विश्वासहरू
मनमा लहलहाउन थालेका छन्
र, त्यसमै रमाएर मन भुलाएकी छु
तिमीलाई सम्झेर घरीघरी ब्युँझने रहरहरूलाई
तिम्रो आगमनको लोरी सुनाउँदै
सुताउने गरेकी छु
आमाबुबा पनि
अब त आए हुन्थ्यो नै भन्नुहुन्छ
केटाकेटी नभएको घरलाई
सुन्नेसान्ने मान्नु हुन्छ
पुस्ताको नयाँ हाँगो नदेखी नै
बितिने पो हो कि भनी पीर पनि मान्नु हुन्छ
परदेशका रुगरुगे रातहरूमा
रुखासुखाले दुखेर
झुत्रिंदै झुत्रिंदै गएका भए पनि
तिमीसँग अझै अलिकति
रङ्गीन सपनाहरू बचेका छन्
तिम्रो यादको भुङ्ग्रोमा
अहोरात्र सेकिएर
खुम्चँदैखुम्चँदै गएका भए पनि
मसँग अझै अलिकति
चटपटे चाहनाहरू बचेका छन्
आऊ सँगै बसौं र
बचेका ती सपना र चाहनाहरू साँधेर
सुन्दर घरबार सृजना गरौं
दिनहरूलाई उदाइला र
रातहरूलाई निदाइला तुल्याउँ
आऊ, अब त फर्किआऊ र
घरव्यवहारको आफ्नो एकलौटी
जिम्मेवारीलाई समाऊ
भो, पुग्यो अब त आऊ ।
आफ्नै मन पनि
मनपर्नै छाडेको छ
आजकाल त मलाई
मेरो आफ्नै मन पनि
कसैको खेदो नखन्न भन्यो
मान्दै नमान्ने
अटेरी गरेर खनी नै रहने
कसैको खेदोको पछि नजान भन्यो
टेर्दै नटेरी झन्झन् दौडेर जाने
भनेको मानेर मन मरे नराख्ने
आजकाल त मलाई
आफ्नो जस्तो लाग्न पनि छाडेको छ
मेरो आफ्नै मन पनि
हिजै मात्र पनि
यसो नगर्नु
उसो नगर्नु भनेर
बेस्सरी सम्झएको
सम्झिएँ अब गर्दिनँ भन्नेसम्म बनाएको
तर खै ! आज पनि उस्तै
अटेरीलाई कसले मन पराउने ?
आजकाल त मलाई नै
मनपर्न छाडेको छ
मेरो आफ्नै भित्री मन पनि
न त आफ्नो बरालापनलाई आफैं सम्झाउँछ
न त अरूले सम्झाएको नै राम्रो गरी समाउँछ
अटेर गरेर
त्यसै त्यसै अररो बनेर जोरी हँसाउँछ
आजकाल त मलाई
मेरो आफ्नै मन पनि
आफ्नो होइन कि ? शङ्का पो लाग्न थालेको छ !
नब्बे डिग्रीबाट पनि ढल्कँदैढल्कँदै उमेर
एकसय असीमै पुग्न लाग्दा पनि
टुसुक्क बस्नधरि फुर्सद ननिकाली
धरमरिंदै दसतिर डुल्ने
उट्पट्याङउट्पट्याङ हर्कतहरूमा भुल्ने
न शरीरको साथ छ
न त आफ्नै गतिलो गाथ छ
लगाम सगाम छिनाएर
बुर्कुसी मार्न पल्केका
उछृङ्खल घोडाहरूमा बेलानकुबेला सवार भएर
टुप्लुक्क टुप्लुक्क
जता पनि पुग्ने
जसो गर्न पनि तम्सने
धस्की सकेको ज्यानमा पनि
मस्कीमस्की पलाएर
खम्य्राङ्खुम्रुङ खुरमुरिन अक्करहरूमा पनि
हौसीहौसी दौडन
हो, मलाई त
आफ्नो जस्तो लाग्न पनि छाडेको छ
मेरो आफ्नै मन पनि ।
बासमा पुगेर
घरी उकालैउकालो
पसिना पुछ्तै
धरी ओरालैओरालो
गोडाका कष्टहरूलाई
सेउला पातीले लुछ्तै
घरी नदी किनाराको एकुवार
हतारहतार छिचोल्दै
घरी अक्करैअक्कर धरमराउँदै
घरी ढिलो हुने डरले
मनमनै भरभराउँदै
थकाइ र दुखाइका कष्ट शमन गर्ने औषधी –
तिम्रो सम्झना
मनमनै पान गर्दै
झोलाको भारलाई पनि
तिम्रै सम्झनाको सान्त्वनाले पार गर्दै
पुसको यो छोटो दिनमा पनि
एकजुवा घाम बाँकी छँदै
आइपुगेको छु बास खोज्दै तिम्रो द्वारमा
अलिकति बाटो काट्न त अझै सकिन्थ्यो
तर, मन काट्न सकिएन
अगिअगिका सम्झनाहरू पनि मुस्कुराउँदै आएका छन्
बिर्साउने उपाय पनि भेटिएन
बैना त आइसकेको छैन होला नि
कसैको ?
( छिमेकीमा पठाएको )
सत्य
सोझो छ
सरल छ
लप्पनछप्पन जान्दैन
नरम छ
सिंगारपटार गरिरहनै पर्दैन
सुन्दर छ
ढाँट, झुट, छल, कपट, फरेब सबैलाई
परैबाट चिन्दछ
उनीहरूको सात पुस्ता
घरैबाट निफन्छ
तर, कसैसँग सरसाइनु गाँस्तैन
त्यस्ताका खानदानको मात्र के कुरा
उनीहरूका टाढाटाढाका नातेदारहरूसँग पनि
नाता जोड्दैन
छोपेर छोपिंदैन
रोकेर रोकिंदैन
जायज उपाय काम नलागे बरु
चुपै लागेर बस्छ
नाजायज बाटो रोज्दैन
त्यसैले त सत्य सबैलाई मन पर्छ ।
आँसुको मूल्य
सुखमा पनि झर्ने
दुःखमा पनि झर्ने
साँच्चै बहुमूल्य हुँदो रहेछ आँसु
सुखमा झर्दा पनि
आफ्नो सुखमा भन्दा बढी
अरूको सुखमा झर्दा
र, दुःखमा झर्दा पनि
आफ्नो दुःखमा भन्दा बढी
अरूकै दुःखमा झर्दा त
अमूल्य नै हुँदोरहेछ आँसु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

