एकलव्यको देशमा
हरेक दिन
शिष्यको बुढी औँला काटिन्छ
गुरु क्रुर बन्दै गुरु दक्षिणा माग्छन्
ब्रह्मा, विष्णु, महेश भनिएका गुरु
पूर्वाग्रही र स्वार्थी बन्छन्
गुरुको हेर्ने नजर
दिने शिक्षा
बोल्ने भाषा
माग्ने दक्षिणा
शिष्यपिच्छै फरकफरक हुन्छन्
एकलव्यको देशमा
अन्धा शासक छन्
जहाँ न्याय पनि अन्धो हुन्छ
सद्ये आँखा भएका द्रोणाचार्यहरू
अन्धाकै भाँति हरियो मात्र देख्छन्
सौर्य पराक्रमको शिरोच्छेदन् गरिन्छन्
शिर काटिएका मृत वर्वरिक मात्र
सत्य देख्छन्
छद्म रूपमा वीरताको
कुण्डल कवच खोसिन्छ
निरीह अभिमन्युमाथि एकहोरो खनिएको
अभद्र, क्रुरतालाई बहादुरी मानिन्छ
अधिकारलाई लाक्षागृहमा राखी
आगो लगाइन्छ
छलकपटले सत्ताको पाशा पल्टाइन्छ
कयौं कन्याहरू
पटकपटक बलात्कृत हुन्छन्
पहिचान नपाएका सुतपुत्र जन्मिन्छन्
हरेको हेराइमा छल छ
हरेकको बुझाइमा कपट छ
हरेकको भावनामा स्वार्थ छ
हरेकको मनमा
दम्भ र अहंकार छ
एकलब्यको देश
जहाँदेखि स्वर्ग नजिक छ
हस्तिनापुर टाढा छ
जहाँदेखि गुरुकुल नजिक छ
गुरु टाढा छन्
जहाँ ध्वंश सजिलो छ
निर्माण कठिन छ
जहाँ भावनात्मक भक्ति काम गर्छ
स्थुल यथार्थ भत्काउँछ र
पौरखीको हात काटिन्छ
जहाँ नारायण भेट्न सजिलो छ
नर भेटन गाह्रो छ
सत्ता, शक्ति, स्वार्थका लागि
मानवतालाई बन्धक राख्छन्
क्षमता भएका भीष्महरू
प्रतिज्ञाबद्ध अवाक रहन्छन्
निरन्तर विनाश हुन्छ
कुरुक्षेत्रको रचना हुन्छ
यदुवंशीय विनाश हुन्छ
एक युगको अन्त्य हुन्छ ।

 

परशुराम १२, डडेल्धुरा