कथा हो
मेरी पूजनीय आमाको पेवा भूमिको
पेवा भूमि मासी
छोराको भलोको लागि भूमिमै लगानी
न त छोराको भलो न आमाकै
भलो त केवल भूमिकै
भूमिको जे बढ्नु थियो बड्यो, ठूलो भो भूमि
भूमिको भाउ बढ्नु थियो बढ्यो, द्रव्य भो भूमि

न ती आमाछोराले खान मिल्यो
न त टोक्न मिल्यो त्यो भूमि
भूमिले छोरालाई हेरेर गिज्याइरहन्थ्यो
तर
आमाको मन भूमिमा सधैँ निश्चल माया र आशीर्वाद
आशीर्वाद त छोरामा पनि थियो

तर
गुनासोले भरिएको आशीर्वाद
घृणा, तिरस्कार जति छोरामा थियो
त्यो
कत्ति पनि नकारात्मक भाव थिएन भूमिमा

भूमिको आगमन नहुञ्जेल सु-शान्तिको आभाषमा छोरा
भूमिको आगमनसँगै वितृष्णाको आभाषमा छोरा

सोच्न बाध्य बनाउँछ भूमिले, निद्रा खल्बलाउँछ भूमिले

जिउँदै मरेतुल्य बनायो भूमिले, सबै बैरी बनायो भूमिले

जिन्दगीमा ठूलै भेल आई बगरमा पुर्यायो
अनि खरानी बनायो भूमिले
आमा र छोराबीच ठूलै पर्खालको तगारोमा उभ्यायो भूमिले
यी सब हुँदै जाँदा त्यो छोरोको जीवनको गति
शून्यताबाट अघि बढ्दैछ, हराएको जीवनशैली
रत्ति पनी कमीको आभाष आएन मूल्य मान्यतामा भूमि

सुन्दैछु आजकल
भूमिमा परिवर्तनको भेल आको छ रे नयाँ वृक्ष छाएको रे
भूमिमा उत्साह छाएको छ रे, नयाँ तृष्णा जागेको रे

भूमिमा सूर्य, वायु, जलको बेजोड मेल छ रे
त्यसैले होला, सुन्दैछु आजकल
भूमिमा वृक्षको कडा जरा पलाको छ रे

त्यसैले होला सुन्दै छु आजकल
भूमिका सँधियारको पारा तताको छ रे !