अविनाश भट्टराई

जिन्दगी एउटा पत्रिका हो-
माथिपट्टि जन्मदिनको शुभकामना
तलतिर भावपूर्ण श्रद्धाञ्जली

साँच्ची, जिन्दगी एउटा पत्रिका हो-
एकापट्टि भव्य भोज
अर्कोपट्टि भोकमरी
एउटा छेउमा जितको समाचार
अर्को छेउमा हारको
एकातिर डुङ्गा कुद्छ
अर्कोतिर डुङ्गा डुब्छ

जिन्दगी एउटा पत्रिका हो-
जहाँ छापिन्छ समाचार एकैसाथ
सीरियाको द्धन्द
र आइसल्यान्डको शान्ति
जहाँ हेर्न पाइन्छ एकैठाउँ
हिटलरको जुगाँ
र गान्धीको धोती

जिन्दगी एउटा दैनिक पत्रिका हो-
जहाँ आउँछ विज्ञापन
‘मल्टिन्यास्नल’ मदिराको
र त्यसैको छेउमा समाचार हृदयघातको
एक दिन समाचार उडानको
अर्को दिन खबर दूर्घटनाको
निर्यात उखुको, आयात चिनीको

जिन्दगी एउटा पत्रिका हो-
जसले ल्याउँछ हरेक दिन फरक समाचार
पहिलो दिन चर्को घाम
दोस्रो दिन भव्य पानी
तेस्रो दिन बाढी पहिरो

जिन्दगी एउटा पत्रिका हो-
जसको हरेक संस्करणमा हुन्छ फरक स्वाद र शैली
वसन्त ऋतुमा एउटा मोडलको ‘ब्लोअप’
शरदमा ऊ ‘हिट’ भएको ‘कभरेज’
शिशिरमा ऊ विदेश पलायनको खबर

जिन्दगी एउटा पत्रिका हो-
जहाँ भेटिन्छ एकैसाथ
बिहानको झुल्के घाम
र रातको अँधेरी ।

कर्जन्हा-२, सिरहा

(अंग्रेजीमा स्नातकोत्तर अविनाश भट्टराई कविता, गीत, गजल, कथा लेखनमा लामो समयदेखि लागिरहनु भएको छ । उहाँका अलग कविता (२०७२) र उत्कृष्ट कथाहरू (२०७७) दुवै कृति संयुक्त रूपमा निकालिसक्नु भएको छ । अलग अभियान सातदोबाटोका सक्रिय सदस्य उहाँ काठमाडौँका विभिन्न कलेजमा अध्यापन गर्नुहुन्छ ।)