खुला आकाशमा
हिमालको चिसो हावासँग कावा खेल्दै
हिउँले छोपेका ती बाटोहरूमा
सुनौला सपनाहरू कोर्दै
तिम्रा नामहरू खोप्दै
उकाला ती यात्रामा
हिँडेको म यात्री
आज
समयको बहावसँगै
तातो हावाको च्याम्बरमा
उसिनिएको आलुजस्तो
बाफिएर बस्नु पर्दा
छट्पटाइरहेको यो मनलाई
शितल प्रदान गर्न
कुनामा रहेको माटोको
मट्काको पानीले
मन भिजाउन खोज्छु
तर भिज्छन् केवल आँखाहरू।।१।।

अनि,
तिनै विवश आँखाहरू चिम्लिदै
पुग्छु म हिमालको कोखमा
जहाँ फुटेका मूलको पानी
शितल चौतारीमा बसेर
तिम्रो हातले पिलाएको
मनै शितल पार्ने त्यो चिसो पानी
सम्झिदै समालिन्छु आफैँ
र कर्तव्यमा लाग्छु सकी नसकी
यो तातो हावाको च्याम्बरमा ।।२।।

हुन त शरीर तातो
हुनुको अर्थनै जीवन हो
चिसो शरीर त केवल शाश्वत् सत्य हो
तातोमा नै खारिएर
फलामले आफ्नो रुप लिन्छ
सबैले ताप्ने पनि
त्यै तातो आगो नै त हो
अनि मन बुझाउँछु
पग्लदै हिमाल पनि त
सदा अटल नै रहेको छ
आफू पग्लिएर उज्यालो छर्नु नै
जीवनको जिउने आधार हो
सुन्दर सपना भेट्टाउनका लागि
चाहिने एक आत्मबल हो
सायद खारिनु नै जीवनको सार हो।।।३।।

त्यसैले त मन समाल्दै
तातो हावाको च्याम्बरबाट
उकुसमुकस हुँदै नियाल्दै छु
च्याम्बरको चरबाट बाहिर
कहिले आउँला बरै
त्यो शितल हुने मौसम
अनि, तिम्रो साथसँगै
रमाउँदै खुला आकाशमा
स्वच्छन्द भएर हिँड्ने त्यो दिन।।४।।