भाउजूको गलहरी अडानामा राखेर
झिकेको हो राहदानी
आमाको तिलहरी बेचेर
बल्ल किनेको हो जहाजको टिकट
पराई माटोमा
जतिसुकै बगाए पनि पसिना र रगत
हालिदिन सकेको छैन-
प्रियाको बुच्चो नाकमा फुली
संगीसाथीको सुनबाला देखेर
खिन्न भैदिन्छ केटाकेटीको मन
थाहा छैन-
कतिवटा केस फुलेपछि
फर्काउन सकिन्छ भाउजूको गलहरी
किन्न सकिन्छ आमाको जस्तै तिलहरी
अड्कल गर्न सकेको छैन-
गालामा कतिवटा खोल्सो परेपछि
भरिन्छ प्रियाको बुच्चो नाक
फकिन्छ केटाकेटीको खिन्न मन
र, सोधेको छैन-
कतिवटा रोगले गालेपछि
देखाइदिन्छ मालिकले घर फर्किने बाटो
सोचेको छु-
भाउजूको उमेर छ
प्रियाको उमेर छ
केटाकेटीको झन् बढ्ता उमेर छ
तिनीहरूको रहर एक दिन पूरा गर्नेछु
अपसोच!
आमासँग उमेर छैन
पशुपतिमा जलहरी हाल्दाहाल्दै
आमालाई तिलहरी हाल्न
भ्याउँछु कि भ्याउँदिन होला ?
(शून्यश्री)
गाईघाट, उदयपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला