एकजना भात पकाउँदैछ
दोस्रो तिउन जोहोमा छ
तेस्रो उपरखुट्टी हालेर गफ चुट्दैछ
चौथो सुतेको बहानामा खाने ताकमा छ
पाचौं दर्केर झर्केर अह्राउँदै छ
ढिलो भएको फेहरिस्त भन्दै छ
अद्‌काँचो भात पस्किओ भन्दै छ
एकजना हतारिँदै भात पस्किन्छ
चुल्हो-चौकोकर्मीहरू असमञ्जस छन्
चुपचाप आ-आफ्ना काममा ब्यस्त
खाने-ह्वारर थपिए आफैँ पस्किन थाले
खोसाखोस कोलाहल मच्चिन्छ
भान्सामा भिडन्त हुन्छ
भान्से टुलुटुलु हेरिरहन्छ अपसोच छ
टुप्लुकटुप्लुक खाने नकर्च्चाहरू
आरोप प्रत्यारोप लगाउँदै खाइरहे
भान्से, दाउरे, केलाउने, जोधाहा
निराश छैनन्‌ भोको पेट छामेर बस्छन्‌
भोलिको फाँको कहाँ खोज्ने भन्दै भोकै सुत्छन्‌
एउटाले अचाक्ली भो कति सहने भन्छ
लुटेराले सधैँ यस्तै निमुखा बनाउँदै छाड्ने भए
भोको पेटमा लात हान्नेलाई छोडिन्न भन्दै करायो
खानेवालाको नाम दाना दानामा लेखेको हुन्छ रे
भन्दै मुख छोप्दै सुतेको मान्छे बोल्यो
दाउरेले भन्यो खायो कि जाणौं भोका कि बात्‌
गरीबी में आटा गिला, एक छाकले मरिन्न खान्देऊ
अधबैँसेले सम्झायो
लुट्ने लुटिरहेका छन्‌
क्रम अविरल चलिरहेको छ
खाने र भोको बस्नेको कथा
श्रमहीन र श्रमजीवीको व्यथा
रगत पसिना बगाउने र चुस्नेको इतिहास
सदियौंदेखि चलिरहेको छ
एक्काइसौं शताब्दी भनेर के गर्नु
ऋण र आदेशले कुप्रिएका मजदूर
ब्याजस्याज तिर्दै आदेश मान्दै घरबारविहीन भए
पच्चिसे उमेरले पचासे देखिनेहरू
थिचिदै पिसिदै किचिदै बन्धक भएका छन्‌
बाउन्न हन्डर, त्रिपन्न ठक्कर खुवाउनेहरू
पात्र फेरिन्छन्‌ प्रवृत्ति उही, ठ्याक्क उही
मुठीभरका अनौठा जुकाहरू
सोस्न बेसरी जानेका छन्‌ कति सिपालु
फाटेका चप्पल, झुत्रो पहिरनधारीहरू
डुलुवा, मगन्ते, भिखारीहरू
सूर्यवंशी चन्द्रवंशीको ख्वाबमा छन्‌
समयलाई दोष कति दिइरहनु
पराजित युगको वन्दना कति गर्नु
छाना, नाना, खानाको संघर्ष चलिरहेको छ
कति तड्पिनु र अझैँ संघर्षको गुन्जायस छैन
जनताको चेत पलाउन थालेको छ
खतराको घण्टी बजेको होइन
घण्टी नै खतराको बजाइएको हो
एक हुल संघर्षका बादशाह हुँकार गर्दैछन्‌
नातावाद, कृपावाद, वंशवाद मुर्दावाद भन्दै छन्‌
अन्याय, अत्याचार, भ्रष्टाचार मुर्दावाद भन्दै छन्‌
कता हो कता मुट्ठी कसेर मान्छे जागा छन्‌
समाजवाद जिन्दावाद भनेको सुनिन्छ
डकार्ने विरुद्ध मसाल बोक्दै छन्‌
फेरि नयाँ बिहानीको बिगुल फुक्दै छन्‌
उत्पादन, नियन्त्रण र व्यवस्थापन
समाजिकीकरण हुनु पर्छ भन्दैछन्‌ ।

महालक्ष्मी-१, ललितपुर