सम्पादकः यम रेग्मी

 

माटो

खेमराज शर्मा

छन्दः शार्दूलविक्रीडित
गणः म स ज स त त गुरु
विश्रामः छ र बाह्र अक्षरमा

माटो जीवन हो अवश्य सबको मान्छेहरू हो बुझ
माटो धड्कन हो सबै मनविषे ज्यूँदाहरू हो बुझ
माटो सिर्जन हो किसान कविको माटो कलाकार हो
प्राणीका जिउमा सुहाउँछ खुबै माटो गलाहार हो ।

माटोको शिरमाझ चुम्न त परै, को सक्छ पुग्नै पनि ?
माटोमा गरिमा तथा महकता को सक्छ सुग्नै पनि ?
माटोको शिरमा बबाल घिनमा बिस्टा परे ता पनि
हाम्रो पौरखको कमाइ मुटु नै टिस्टा झरे ता पनि

पूर्खाले कसरी स्वदेश बिचमा वीरत्व रोपी दिए
आस्थाको गरिमा झिकीकन दिलै त्यो रक्त चोपी दिए
माटो बाँच्न सकोस् भनेर बलिया जागे किला काँगडा
माटोको गुनगान जे जति गरे रह्यो कहाँ आँकडा ।

मेरो देह गलोस् तथापि कहिले भो दिन्न खस्नै तल
कोही आँट कबै गरोस् न जहिले संझीकनै निर्बल
गोला पत्थरको म हूँ सब बुझून् फुट्नै परे फुट्दछु
पापीका छलछामका बिउहरू भुट्नै परे भुट्दछु ।

नेपाली वनका पहाडतिरका मैदान खोलाहरू
नेपाली मुटुमा सदा फुलिरहूँ विशाल चुच्चाहरू
हेपेरै जहिले कुबुद्धि यसको माटो नभन्नू कबै
बोल्दा त्यो कपटी असाध्य हिनले लाटो नबन्नू कबै ।

०००
रोल्पा

हाँसो

विदुर अधिकारी

छन्दः भुजङ्गप्रयात
गणः य य य य
विश्रामः छ अक्षरमा

सधैँ हाँस्न सक्ने बनौँ जिन्दगीमा
सधैँ नाच्न सक्ने बनौँ जिन्दगीमा
बडो मुस्कुराई रमी यो थलामा
सधैँ बाँच्न सक्ने बनौँ जिन्दगीमा ।

रहे दिव्य हाँसो धरा रम्छ हेर
सधैँ हाँस्न जानौँ सुमार्गी बनेर
हुने योग हाँसे बुझौँ सत्य सार
बनौँ योगकर्मी भरी सद्धिचार ।

गरे मन्द हाँसो सफा हुन्छ चेत
रिसाई बसेमा हुँदै हुन्न बेस
खुली मस्त हाँसौँ समालेर नानी
छ छोटो धरामा बुझौँ जिन्दगानी ।

हँसाऔँ र हाँसौँ मिली भव्य गाई
यहीँ जिन्दगीमा सबै दाजुभाइ
जहाँ हुन्छ हाँसो त्यही फुल्छ शान्ति
नहाँसी बसेमा कहाँ खुल्छ कान्ति ।

रमी हाँस्न जाने सजिन्छन् धरामा
खुसी साट्न जाने हुँदै हुन्न धामा
लिए क्रोध ज्यादा जगत् रिक्त हुन्छ
भए सौम्य हाँसो मिठो प्रेम फुल्छ ।

०००
चितवन

आमा

मीरा ज्ञवाली

छन्दःदिक्पाल
गणः त र म ज गु गु
विश्रामः सात अक्षरमा

आमा बनेर आईन् देवी यहीँ धराकी
आमाविना खुसीको मिल्दैन है सुराकी
माया र प्रेम बाँड्दै पीडाहरू निदान
आमा त हुन् सबैकी वात्सल्यको मुहान ।

धर्ती बनी सधैँ नै आशा उमार्न सक्छिन्
हर्दै अभाव सारा नैराश्य टार्न सक्छिन्
गर्दै सधैँ भलाई बाँड्छिन् अनेक ज्ञान
आमा त हुन् सबैकी वात्सल्यको मुहान ।

सम्मान होस् सधैँ नै आमा दया निसानी
आमाविना कसैको बन्दैन है चिनारी
यो जिन्दगी तिमीले आमा अमूल्य ठान
आमा त हुन् सबैकी वात्सल्यकी मुहान ।

अर्ती र ज्ञान राम्रो के हुन्छ ?सदैव चिन्नू
पीडा दिएर आमा हाँस्दै कतै नहिँड्नू
आमाविना सधैँ नै एक्लो हुँनेछ प्राण
आमा त हुन् सबैकी वात्सल्यकी मुहान ।

बोल्नू सदैव मीठो आमा अभिन्न साथी
हुन्छिन् खुसी र आमा खोल्छिन् सुमार्ग हाँसी
आमा भए सबैको बेग्लै हुँनेछ सान
आमा त हुन् सबैकी वात्सल्यकी मुहान ।
०००
रूपन्देही