आज म केलाउँदैछु
वर्षौँदेखि तिम्रै इतिहासले
मेरोे अस्थित्वमाथि थोपरिदिएका असङ्ख्य दागहरू ।

उक्लिँदैछु हरदम
पासो थापेका ढुङ्गे गोरेटाहरू
अनि हिँड्दैमा नथाक्ने मेरा पैतालाहरू
जुनदिन मैले खुला क्षितिज भेट्टाउँछु
हो, त्यहीदिन व्यर्थ ठहरिनेछ
तिमीले डामेका धब्बाहरू
त्यहीदिन रङ्गीन फूल झैँ ठान्नेछ विश्वले
सादा कपडा भिरेका अछुत औँलाहरू ।

यदि सपनाहरूमा फरक पाउँछौ भने
मैले सदियौँदेखि टाल्दै आएको
देशको झण्डालाई सोध्नू
यदि जीवनको अर्थमा भिन्नता पाउँछौ भने
तिमै्र पवित्र मन्दिरमा
सखारै घन्किने डमरु–खैँजडीमा लत्पत्तिएका
मेरा पसिनाहरूलाई सोध्नू
सायदै प्रतिपक्ष भै उत्रिन्छन्
तिमीले भिराइदिएका अमूर्त दागहरू ।

‘मार्टिन लुथर’का चक्रसँग मित लाउँदै
सम्मिलित हुँदैछन्
मुठ्ठी पारेर ठड्डिएका दागहरू
आजभालि तिम्रो मस्तिष्कको अँध्यारो सडकमा
सायदै उसलाई सह्य भएन होला
इतिहास सजाइएका इन्दे«णीहरू
नालीको फोहोरझँै थुकिएको,लत्याइएको ।

चन्द«माको दाग त सहँदैनन्
‘मलाला युसुफजाइ’का आँसुहरूले
तर अबोध गाउँमा पिंजडामा थुनिन्छन्
धानका बालाहरू
अतृप्त यौनप्यास बुझाइदिन बाध्य
जीवनका आशाहरू
अब सहँदैनन प्रत्येक सप्तरङ्गहरूले पनि
निर्बाध..तिमीले दल्दिएको कालो म्वाँसो ।

सम्मिलित हुँदाहुँदै असङ्ख्य दागहरू
सफा गर्नलाई
कञ्चन वागमती– यो समाजको
के महिला ? के पुरुष ?
के बाहुन ? के दलित ?
फूलबारी सुवासित गुलाबले मात्र हो र ?

यदि चाहान्छौ भने सुधार्न
तिम्रा महान् गल्तीहरूलाई
दुनियाँ नियाल्ने आकाशले पनि
अँध्यारो इतिहासलाई माफी दिनसक्छ ।