जन्म सिद्ध
स्वतन्त्रताको
अधिकारलाई
कोपिला लाग्नसमेत नदिई
पारिवारिक मूल
र समाजको हुलले
विस्तारै गिजोल्न थालेपछि
देख्नु
र भोग्नुको
तार्तम्य भिन्न भएको हो नि
होइन र ?

अनि
जन्मनासाथ
तथाकथित
सभ्य समाजको
विभेदकारी
नियमकानुनको
चौघेरामा घेरिदै
वरपरको परिवेश
र वातावरणसँग
क्रीडा गर्दै हुर्कन
बाध्य तिमी
र मैले
देश अनुसारको
भेष नगरी
स्वतन्त्रता
र समानताको
वर्चस्व कसरी
अँगाल्न सक्थ्यौँ त ?

केवल
मान्छेलाई
मान्छे
र पशुलाई
पशु भनेर
छुट्याउन जानेको
तिम्रो
र मेरो बालसुलभ मनलाई
हाम्रो आफ्नै समाजले
बलात्कार गरी
घोकायो
आफ्नो र पराई
तेरो र मेरो
भनेर
संस्कार पाठ
अनि
उडायो हावा बनाई आकाशमा
घुमाएको बादल बनाई क्षितिजमा
उराल्यो खहरे बनाई पखेरामा
र किनारा लगायो
भङ्गालो बनाई
बगरमा
छेक्यो पर्खाल लगाई
साँधमा
थमायो ऋणको भार
काँधमा
त्यसपछि त झन्
स्वतन्त्रता
र समानता
दुई ढुङ्गाको बीचको
तरूल बनेर चोइटिन थाले
प्रत्येक कान्लाबाट
ज्वालामुखीको राप
बनेर उम्लिए
न घर नघाट
धूलो मिसिएर
उड्यो धुँवा जताततै
त्यही धुँवाको मुस्लोमा
कुहिरोको
काग बनेर उडिरह्यौ
हामी
र हामीसँगै उड्यो हाम्रो
स्वतन्त्रता
र समानता
त्यस पछिको परिणाम
हल्लै हल्ला हल्लियो
अखण्डता विरामी भई थलियो
विखण्डन जन्मिएर
जातीय
धार्मिक
लैङ्गिक
पेशागत
पैसागत

रूपगत
इत्यादि नाममा
विभेदहरू उम्लिए
टोल, टोलका
घर -छिमेक
विभाभाजित भए
र स्वतन्त्रताको
उपहास गराए
उफ्!
आज
सद्भावको
सुगन्धित फूललाई
ऐँजेरू समानको
तीतो ठिमाहाले
दुर्गन्धित पारेको देख्छु
सुसङ्गठित
समाजको कल्पना
गफले झारेको देख्छु
आश्चर्यको कुरा त
असमानताको बिज रोप्दै
निरर्थक वाक्य ओकलिएर
देख्छु
प्रशव पीडाले छट्पटाएकी
आमाको चित्कार
र छट्पटाहट देख्छु
अनुत्पादक वस्तुमा
लगानी गर्दै
रूपान्तरित
र समुन्नत
समाजको परिकल्पना
उत्तेजित भएको देख्छु
यस्तो उत्तेजना
मरूभूमिको बगरमा
जाई /जुही रोपेर
फूलको
वास्नाको परिकल्पना
गर्नु जस्तै होइन र!

अझै
सोचनीय कुरा त
माटो
र पानी बिना
निस्लो बालुवामा
के फूल फूल्न
र फक्रन सक्लान् त ?
चेतनाको गरामा
बीज उमारी
बाला झुलाउन
जूनको
टहटहमा चाँदीका
ढिक्का फलाई
समानताको
सास फेर्न
स्वतन्त्रताको अस्तित्व
घनिभूत हुनु पर्दछ
अन्यथा
स्वतन्त्रता र समानता
तासको घर
सरह हुनेछ ।

 

गोरखा, नेपाल

हालः अमेरिका