ओ ! ठकुरी दाइ
प्रेम गरेर तिम्री बहिनीलाई
कस्तो गर्नै नहुने अपराध पो गरेछु
आऊ, बाँध मेरा पनि हातखुट्टा
र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध !
बग्दै बग्दै जानुछ मलाई दूरसम्म
कहिलै नभेटिने गरी तिम्री बहिनीसँग !
तिमीले ’हैन’ भन्न लगाउँदा मैले ’हो’ भनें होला !
तिमीले ’छैन’ भन्न लगाउँदा मैले ’छ’ भनें होला !
तिमीले ’जात मिल्दैन’ भन्दा
बाठो भएर मैले ’मन मिल्छ’ भनेँ होला
ओ ! ठकुरी दाइ
अपराधीलाई जस्तो उभ्याएर कठघरामा
जति लिनुछ लेऊ बयान
म कलियुगको सत्य हरिश्चन्द्र कसरी ढाँटु तिमीलाई
मैले प्रेम गरेको साँचो हो तिम्री बहिनीलाई
भन,
भेरीमा चडाएर केही थान प्रेमका कोपिला
उकालो चढ्दै गरेको त्यो छाँया कसको हो ?
प्रेमको छातीमा रोपेर जातका तीरहरू
कसले बनायो प्रेमको शहीद नवराजहरूलाई ?
र दियो अजात प्रेमको संज्ञा ?
ओ ! ठकुरी दाइ
कसम खाएर ज्यान दिने तिम्री बहिनीलाई
कस्तो गर्नै नहुने अपराध पो गरेछु
आऊ, कस मेरो पनि मुखमा पट्टि
र, जोडिदेउ भेरीको भेलसँग सुमधुर सम्बन्ध !
बग्दै बग्दै जानुछ मलाई दूरसम्म
कहिलै नबोल्ने गरेर तिम्री बहिनीसँग !
एउटै योनी ब्रह्माण्डबाट जन्मिएको यो एउटै पृथ्वी !
एउटै पृथ्वीबाट जन्मिएका हामी एउटै मान्छे
एकाएक कसरी भयौं फरक ?
एउटै वायुमण्डलको हो हामीले फेर्ने श्वास पनि !
एउटै घामको हो हामीले ताप्ने प्रकाश पनि !
तर दिनप्रतिदिन कसले कोर्दैछ
पृथ्वी योनीमा सहस्र विभेदका रेखाहरू ?
पृथ्वीको पाठेघरभित्रै कसले लगाउँदैछ
अग्ला अग्ला जातीय पर्खाल ?
ओ ! ठकुरी दाइ
हामी त एउटै बगैँचाका फूल पो त
हामी त थरी थरी फूलका रङ्गीन माला पो त
तर तिमी भड्काएर फूलहरूबीचको युद्ध
किन मच्चाउन खोज्छौ एउटा अर्को नरसंहार ?
अब मलाई च्यात्नुछ
आरक्षणको नाममा विभेदको खोल ओडाउने
संविधानका ती केही अछुत पानाहरू
अब मलाई डढाउनुछ
वर्षौँदेखि शीर ठाडो पारेर हिन्न नदिने
मनुस्मृतिका ती केही अछुत व्यवस्थाहरु
र, गर्नुछ तिम्री बहिनीलाई निर्धक्क प्रेम
ओ ! ठकुरी दाइ
प्रेम गरेर तिम्री बहिनीलाई
कस्तो गर्नै नहुने अपराध पो गरेंछु
आऊ, बाँध मेरा पनि हातखुट्टा
र, जोडिदेऊ भेरीको भेलसँग सुमधुर सम्बन्ध
बग्दै बग्दै जानुछ मलाई दूरसम्म
कहिलै नभेटिने गरेर तिम्री बहिनीसँग !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।