नगेन्द्र इङनाम “आठराइली”

खडेरीमा तिर्खाएको राँगो-गोरुझैं
गल्ली गल्ली हुक्राङ हुक्राङ डुक्रिँदै
गोबर, गुहु, हिलो स्याउला कुल्चदै कुल्चदै
सत्ताको उन्मादमा, तेरो गुरुको आदेशमा
हाम्रै पसिनाको पैसाले पालेका
सिपाहीहरूको पहराभित्र बसेर
कोशी नामको पानीमा तैरदै तैरदै
लाजेहाङको रगतले तिर्खा मेट्दै
लाजेहाङकै मांसपिण्डले भोक मेट्दै
सयौँको टाउको फोर्दै, घाइते बनाउँदै
गजेन्द्र फगोको दुवै खुट्टा निल्न भ्यायौ
निर्मला क्षेत्रीको दुवै घुँडा चिथोर्न पनि भ्यायौ
डुक्री साँढे – हिक्मत कार्की डुक्री
मनमौजी डुक्री, कति सक्छस् डुक्री
तर निश्चित छ तेरो अवशान

यसो गरुँ भनी सुटुक्क बोलाएर
उसो पनि पो गरुँ भनेर अह्राएर
ढाँट्नसम्म ढाँटिस् साँढे
कालो रुप, कालो आँखा
कालै नै रछ तेरो तन
कालो तनभित्रको झन् कालो मन
आफूलाई कत्ति चाँडो भुलिस् साँढे
कुर्सीको मातले मात्तिएर
आफ्ना आफन्तको आँखा छलेर
एक नम्बरे जनताको मन
काट्नसम्म काटिस् साँढे
कति सक्छस् काट्, मनमौजी काट्
तर निश्चित छ तेरो अवशान

जनमतको सही कदर गर
कोशी नाम तुरुन्तै बदर गर
हाम्रो ठाउँ हाम्रै पहिचानको नाउँ
किरात-लिम्बुवान जिन्दावाद!
तेरो निरङ्कुशतन्त्र मुर्दावाद!
सत्ताको बन्दी बनेर कति बस्लास्
प्रजातन्त्रमा तेरो मण्डले प्रवृत्ति
मानव अधिकार निर्मम खोस्दैछस्
सहाधिकार खोज्नेलाई शहीद बनाउँदैछस्
तर त्यो दिन छिट्टै आउँदैछ
न कुर्सी, न पहरा हुनेछ तेरो
न शान, न सहारा हुने छ तेरो
हाम्रो आन्दोलनको आगोले
तेरो नश्लीय दम्भ भष्म हुनेछ
आजै उफ्री साँढे, मनमौजी उफ्री
बाली-नाली बिमाख गर्दै फाँड्दै
आली कान्लाहरू नाँघ्दै नाँघ्दै
डुक्रँदै डुक्रँदै यत्रतत्र उफ्री साँढे
तर निश्चित छ तेरो अवशान ।