घाम बनेर आऊ
तिमी छायाँ बनेर आऊ
प्रेम बनेर आऊ
तिमी माया बनेर आऊ
वर्षात् बनेर आऊ
तिमी दर्पणछाँया बनेर आऊ
बस्, तिमी आऊ ।

चहर्याएको घाउमा लाउने
मलम बनेर आऊ
गुम्सिएका पीडा पोख्ने
कलम बनेर आऊ
मूल्यहीन बनेँ भने म कतै
अहं बनेर आऊ
बस्, तिमी आऊ

कोर्न नसकेका कविता
लेख्न नसकेका किताब
बोल्न नसकेका शब्द
पोख्न नसकेका अक्षर
जुन रुपमा आउँदा पनि हुन्छ
बस्, तिमी आऊ

विदेशिएको परदेशी
घर आएजस्तै
हिउँदमा मिठो घामले साथमा
टन्नै खुसी ल्याएजस्तै
गर्मीमा कालो बादलले
आफूभित्र लुकाएर
शितल वर्षा ल्याएजस्तै
जुन स्वरुपमा आए पनि हुन्छ
सबैभन्दा मूल्यवान् हुनेछ
तिम्रो आगमन
बस्, तिमी आऊ

आकार बनेर आऊ
गोलाकार बनेर आऊ
आकारै लिन नसके
निराकार भएर आऊ
तिम्रो आगमन नै
मेरालागि पर्याप्त हुनेछ

किनकि
तिम्रो आगमनले
मात्रै पनि मैले अहिलेसम्म
महसुस गर्न नपाएको
अनुभूति पाउनेछु
शब्द भर्नै नसक्ने खुसी पाउनेछु
अहिलेसम्म लुकाएर राखेको
मातृत्व पोख्न पाउनेछु

जति पीडा म भोग्दैछु
त्यति नै सकसमा
तिमी पनि त छौ
तिमी आएपछि
हो, म आमा बन्नेछु
तिमी जन्मिदा
म पनि आमाको रुपमा जन्मिनेछु
त्यसैले त म भन्दैछु

बस्, तिमी आऊ
जुन आकार, स्वरुप अनि लिंगमा
आए पनि हुन्छ, तिमी आऊ
तिम्रो आगमनले मात्रै पनि
अहिलेसम्मको
अपुरो अधुरो म
पुरापुरा हुनेछु

हो, तिमी
मलाई पूरा बनाउन भए पनि आऊ
मजस्तो भएर हैन
तिमीजस्तै भएर आऊ
कहिले बन्न नसकेको म होइन
तिमी बिल्कुल तिमी भएर आऊ
जस्तो छौ तिमी
त्यस्तै आऊ
बस्, तिमी आऊ ।