जोतिएका पाटाहरू
फोडिएका डल्लाहरू
फालीसँग
फरुवासँग
चित्त दुखाएका छन्
तोडिएका नाताहरू
मोडिएका नातेदारहरू
ऊ कङ्गालीसँग
हरूवासँग
जीत देखाएका छन्
अनि ऊ फुटिदियो
ती डल्लाहरूजस्तै
अनि ऊ फैलियो मुछियो
ती हल्लाहरूजस्तै
ऊ निःशब्द मौन बस्यो
मनका सन्नाटाहरूजस्तै
अनि ऊ चिरियो
ती पाटाहरूजस्तै
अनि ऊ फारियो
ती बाटाहरूजस्तै
अनि ऊ किचियो
ती चल्लाहरूजस्तै
अनि ऊ साटियो
ती घाटाहरूजस्तै
अनि ऊ हेपियो
ती तल्लाहरूजस्तै
अनि ऊ दबियो
ती लाटाहरूजस्तै
खट्खटाइए मध्यरातमा
ती पल्लाहरूजस्तै
मनमै चिथोरियो
आलो खाटाहरूजस्तै ।