गाउँ पहाडका घँगरुहरू
जो ज्यादा बलियो छ
मोटो कडा र सर्लक्कको छ
जो अलिक विशेष छ
चुनिन्छन् प्राथमिकताबाट
थुतिन्छन् घारीबाट
खुर्किन्छन् ताछिन्छन् मोडिन्छन्
र बन्छन् दरिलो लाठी
पुग्छन् पराई हातहरूमा
र बजारिन्छन्
उनीहरूका स्वार्थ र खटनहरूमा
जसरी
बजारिए बाउबाजेहरू बर्माहरूमा
फोक्ल्यान्डहरूमा
जसरी बजारिंदैछन्
भाइभतिजाहरू
अफगान अनि कश्मीरहरूमा

बाँकी घंगरुहरू
जो पाखा थामेर बसेका छन्
जसले घारी बचाएर राखेका छन्
जो भीर पहराहरु रुँघेर रहेका छन्
जसमा कोपिला फूल र दाना लाग्छन्
र छर्छन् सुवास जंगलैभरि
जो गोठालाहरूको मीत बनेका छन्
जो जुरेलीहरूको प्रीत बनेका छन्
उम्रेकै जमिनमा बाँच्दा छन्

सरकार !
के कुनै दिन यस्तो आउला कि
मेरो देशमा कोही खोज्दै नआवस्
घंगरुका लाठीहरू
र कोही बजारिन नपरोस्
पराइका आदेशहरूमा
बन्नै पर्छ त लाठी यदि भने
र बजारिनै पर्छ त कहीँ भने
कसो नबजारियोस्
आफ्नै माटोको
असली शत्रुहरूको टाउको र छातिमा ।