संसार तिवारी

यदि,
तिमी बसिरहेको घरको
माटो, बालुवा, ढुङ्गा या ईंटा
तिमीले छोएका, खनेका, फुटालेका
हैनौ भने,
केवल वर्षौँदेखि बसिरहेकै भरमा,
त्यो घर कसरी तिम्रो हुन सक्छ ?

यदि, तिमीले शरीरमा पहिरिइरहेका रङ्गीबिरङ्गी कपडाहरु
तिमी आफैँले बुनेका, तुनेका, जोडेका हैनौ भने,
त्यो कपडा कसरी तिम्रो हुन सक्छ ?

र यदि,
तिमी आफूले खान भनी अगाडि राखिरहेको त्यो खाना,
तिमीले गोडेको, उमारेको, उब्जाएको होइन भने,
त्यो कसरी तिम्रो हुन सक्छ ?

किनकि
तिमीजस्तै,
तिमीले हेर्ने, सुन्ने, खाने, लाउने
सब चिजभित्र ब्रह्माण्डको बीज लुकेको हुन्छ ।

कुनै बीज वृक्ष, कपास, कपडा बनोस्,
या त्यो माटो, बालुवा वा सिमेन्ट बनोस्,
या त्यही बीज तिम्रो खाना बनी तिम्रो अगाडि आवोस्,
त्यस बीजको ऊर्जा कहिल्यै मासिने होइन,
त्यसको धड्कन कहिल्यै मेटिदैन ।

जबसम्म तिमी त्यो धड्कन सुन्ने चेष्टा गर्दैनौ,
तबसम्म तिमी त्यसलाई कदापि बुझ्न सक्दैनौ
र, जुन चिजलाई तिमी बुझ्न सक्दैनौ,
त्यसलाई तिमी कसरी आफ्नो भन्न सक्छौ?